लुम्बिनी कप महिला फुटबलको मिति सार्वजनिक, नेपालगन्ज रंगशालामा फागुन १९ गते देखि हुने
Tuesday, December 24th, 2024, 7:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, पुस ९ गते
लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटवल संघको सहकार्यमा नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुने उक्त फुटवल प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।
अखिल नेपाल फुटवल संघ (एन्फा)ले आयोजकलाई सोमवार पत्र मार्फत लुम्बिनी कप महिला फुटवल आयोजनाको लागि फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटवल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले जानकारी दिनु भयो ।
यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरु आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटवल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘पश्चिम नेपालमा महिला फुटबलको लोकप्रियता बढाउन यो प्रतियोगिता महत्वपुर्ण हुनेछ । यसको व्यवस्थापन देखि लिएर सफल आयोजनामा हामी जुटिसकेका छौं । प्रतियोगितामा नयाँ खेलाडीले खेल्ने अवसर पाउनेछन् । यसले फुटबलको विकासमा सहयोग गर्नेछ ।’
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिंदै बाँके जिल्ला फुटवल संघ र अन्तरालको संयुक्त प्रयासवाट लुम्बिनी कपले साकार रुप लिन लागेको बताउनु भयो ।
‘लुम्बिनी कप महिला फुटवल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्ने निश्चित छ, शाहले भन्नु भयो,‘फुटवल मात्रै होइन । पश्चिम नेपालकै पर्यटन विकासमा समेत यो कोशेढुंगा बन्नेछ ।’ शाहले प्रतियोगिता सफल पार्न बाँके र लुम्बिनी प्रदेशका सरोकारवाला सवैलाई हार्दिक अपिल गर्नु भएको छ ।
नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै ठुलो प्रतियोगिता हो । यसअघि प्रतियोगिताको लोगो सार्वजनिक भैसकेको छ । नेपाली राष्ट्रिय महिला फुटवल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नु भएको थियो ।