डुडुवामा डाँकाहरुको समूहद्वारा एक घरमा लुटपाट
Wednesday, December 25th, 2024, 5:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, १० पुस
बाँकेको डुडुवा गाउँपालिका वडा नं २ बेतहनीको एक घरमा गएराती डकैती भएको छ ।
बेतहनीका सन्तोष सोनीको घरमा गएराती (मंगलबार) करिब साढे १० बजेको समयमा २५ जनाको समूहमा आएका डाँकाहरुले लाखौंको धनमाल लुटेर लगेका हुन् ।
उनीहरुले सोनीको घरबाट करिब १३ लाख बराबरको धनमाल लुटेर लगेको पिडित सोनी स्वंयले जानकारी दिए । हतियारसहित आएका सबै डाँकाहरुले पुरुषहरुको हात बाँधेर घरको खानतलासी गरेर गरगहना लगायतका सामान लुटेका छन् ।
घर पछाडीबाट छिरेका डाँकाहरुको समूहमध्ये १५ जना घरभित्र पसेको र अन्य १० जना बाहिर बसेर पहरा दिएको पिडितले बताए ।
दुई जना किशोरी, तीन जना किशोरसहित आठ जना रहेको परिवारमा कसैलाई केही नगरेपनि परिवारका पाका व्यक्तिहरुको डाँकाहरुले लुटपाट गर्ने क्रममा हात बाँधेका थिए ।
लुटपाट भएको दश मिनेटमा प्रहरीलाई सम्पर्क गर्दा प्रहरीको फोन नउठाएको पिडितले गुनासो गरे । करिब पाँच सय मिटरकै दुरीमा रहेको प्रहरीलाई बारम्बार फोन गर्दा पनि प्रहरीले फोन नउठाएको भन्दै पिडितले लुटपाटमा प्रहरीसमेतको मिलोमतोको आशंका गरेका छन् ।
हामीले घट्ना घटेको १० मिनेटमा प्रहरीलाई जानकारी गराउन फोन गर्दा नउठेपछि चौकी गएका थियौं, पिडित सोनीले भने तर प्रहरी भने करिब ३० मिनेट भन्दा बढी समयपछि मात्र घट्नास्थलमा आएको थियो ।
कृष्णगोपाल ज्वेलर्स संचालन गरेका सोनीका घरमा पसेका डाँकाहरुले घट्नाबारे बाहिर सार्वजनिक गरेर ज्यान लिने धम्की समेत दिएको पिडित सोनीले बताए । घरमा लुटपाट गर्ने क्रममा नै उनीहरुमध्ये धेरैले यिनीहरुलाई मारेर जानुपर्छ भनेपनि धम्की दिएर गएका छन् ।
पिडित परिवारले आफुहरु डर त्रासमा रहेको बताए । डाँकाहरुले हामीलाई यहींकै व्यक्तिहरुले बोलाएपछि आएको भन्दै धम्क्याएको पिडित सोनी खुलाएका छन् । सबैले मुख छोपेका कारण कसैलाई चिन्न सकिएन, पिडित सोनीले भने ।
डाँकाहरुले स्थानीय र अन्य कहीं कतै कसैसँग आफुहरुको दुश्मनी वा झैझगडा नभएकाले कसैमाथि शंका गर्ने ठाउँ नरहेको सोनीले बताए ।
यता घट्नाबारे थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ताको सम्पर्क नम्बर ९८५८०२३९२२ मा सम्पर्क गर्दा फोन उठेन् ।