राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बुझाए दोस्रो स्पष्टिकरण
Sunday, January 8th, 2017, 12:21 pm
amit
काठमाडौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आइतबार सरकारलाई दोस्रो स्पष्टिकरण बुझाएका छन्।
उनले प्रधानमन्त्री कार्यालयका सचिव दिनेशकुमार थपलियालाई छ पेज लामो स्पष्टिकरण बुझाएका हुन्। सरकारले शुक्रबार उनलाई पदबाट किन नहटाउने भनेर २४ घन्टे स्पष्टिकरण सोधेको थियो। ज्ञवालीले आफ्नो दोस्रो स्पष्टिकरणमा पुनर्निर्माणमा विभिन्न निकायबीचको समन्वय, पुनर्वास र भूकम्पपीडित परिवारलाई अनुदान वितरणसम्बन्धी आफूले अहिलेसम्म गरेका कामका बारेमा उल्लेख गरेका छन्। सरकारले अघिल्लो हप्ता उनको कामप्रति असन्तुष्टि जनाउँदै सात दिने स्पष्टिकरण सोधेको थियो। उनले गत बुधबार स्पष्टिकरण बुझाएका थिए।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले उनको स्पष्टिकरण चित्त बुझ्दो नभएको र उनलाई पदबाट बर्खास्त गर्नुपर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् उनलाई बर्खास्त गर्ने र नयाँ सिइओ नियुक्त गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको थियो। महान्यायाधिवक्ताको राय अनुसार ज्ञवालीलाई दोस्रो स्पष्टिकरण सोधिएको थियो।