किन फुटेको थियो जसपा ?
Friday, January 3rd, 2025, 8:11 am
Kalpristha
कमल खत्री
धम्बोझी, १८ पुस
जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादव अहिले देशव्यापी अभियानमा हुनुहुन्छ । ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार आधारभूत अभियान’मा सक्रिय देखिनु भएका यादवसँग नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा एउटा प्रश्न गरिएको थियो, तपाई र मोहम्मद इस्तियाक राई बिच पार्टी फुटाउने गरी किन टकराव भयो? त्यो प्रश्न गर्नु अघि सहज रुपमा बोलिरहनु भएका यादवले यसलाई अलि गम्भिर रुपमा लिनु भएको थियो ।
उहाँले भन्नु भयो,‘हाम्रो पार्टी त प्रचण्ड जी ले फुटाइदिनु भयो । आफनो व्यक्तिगत स्वार्थ, सत्ताको राजनितिको लागि प्रचण्डले हाम्रा साथीहरुलाई ललि पप देखाउनु भयो । साथीहरुले त्यसलाई विश्वास गर्नु भयो ।’
प्रचण्डले आफनो सत्ता टिकाउन पार्टीका केहि साथीहरुलाई पद, पैसाको लोभ देखाउँदै जसपा फुटाउने काम गरेको यादवले आरोप लगाउनु भयो । इस्तियाक राईसँग आफनो कुनै अन्तर संघर्ष नभएको बताउँदैं यादवले भन्नु भयो,‘म विदेश भएको बेला पार्टीलाई फुटाउने काम भयो । प्रचण्ड जीले त्यो कुरा आफै स्वीकार गर्नु भएको छ ।
आफनो सत्ता टिकाउन मैले जसपा फुटाएको हुँ । यसै गरिरहन्छु भनेर सार्वजनिक रुपमा भन्नु भएको छ । राज्यको स्रोत साधनलाई दुरुपयोग गर्दै शंक्ति र सत्ताको आडमा पद, पैसाको लोभ देखाउने काम भयो । पार्टी फुट्ने बित्तिकै भोली विहानै पद दिनु भयो । अरु त लोभी पापी पात्र मात्र हुन । प्रयोग मात्र भएका हुन् । गोटीजस्तै उभिएका मात्र हुन् ।’
अध्यक्ष यादवले इस्तियाक राई प्रति संकेत गर्दै लोभ र पदको लागि पार्टी फुटाउने काममा गरेको बताउनु भयो । यादवले बोल्ने क्रममा राईलाई त्यतिधेरै वास्ता नगरेपनि उहाँहरुबिच पार्टीमा लामो समय देखि अन्तर संघर्ष चलिरहेको थियो । जसपामा राई पार्टीमा नेतृत्व परितर्वनको पक्षमा हुनुहुन्थ्यो । पार्टीमा राईको प्रभाव बढदै गएपछि आफुु कुनै पनि बेला कमजोर हुन सक्ने भन्ने मनोदिशा यादवको थियो । पार्टीभित्र अध्यक्षलाई सिधै चुनौति दिन सक्ने नेताको रुपमा राईलाई लिने गरिन्थ्यो । जसपा सरकारमा जादा उहाँ महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी पाउने नेतामा पर्नु हुन्थ्यो ।
राईले श्रीम तथा रोजगार, सहरी विकास र भौतिक पुर्वाधार जस्ता महत्वपुर्ण मन्त्रालय सम्हालने अवसर पाउनु भएको थियो । स–साना पार्टी मिलेर बनेको जसपा नेपालमा डा. बाबुराम भंटराईसँग मिलेर राईले नेतृत्व परितर्वनको पक्षमा उभिएपछि भने यादवलाई झन थ्रेट महशुस भएको थियो । पार्टीभित्रको असन्तुष्ट समुहलाई व्यवस्थापन गर्न नसकेपछि जसपा पुनः फुटमा बाटोमा अगाडी बढेको थियो ।
डा. बाबुराम भंटराईले अहिले नेपाल समाजवादी पार्टी (नेसपा) पार्टी खोलेर राजनितिमा आफनो उपस्थिती जनाईरहनु भएको छ भने राई जसपाबाट राजनिति गरिरहनु भएको छ । पार्टी विभाजनको समयमा राईकै गृह जिल्लाबाट समेत यादवले बलियो साथ पाउनु भयो । यादवको पक्षमा अधिकाश जनप्रतिनिधि र सासदहरु लाग्नु भयो । नेपालगन्जको पत्रकार सम्मेलनमा पनि लुम्बिनी प्रदेश सांसद अम्बिका काफले, नेपालगन्ज उपमहानगरपालिका उपमेयर कमरुद्दिन राई, २० नम्बर वडा अध्यक्ष कौशल धोवी यादवसँगै देखिनु भएको थियो ।
पार्टीमा आफनो पकड बलियो राख्न सफल भएपनि एजेन्डामा भने जसपा नेपाल कमजोर देखिएको छ । मधेश केन्द्रित मुद्धालाई लिएर राजनिति गरिरहेपनि मधेशकै जनताले क्षेत्रीयलाई खास्सै रुचाएको देखिदैन् । नेतृत्व परिवर्तन, पार्टीलाई चलाएमान बनाउन पद र अवसरको हस्तान्त्रणमा चुक्ने गरेको आरोप मधेश केन्द्रित पार्टीलाई लाग्दै आएको छ । जुन प्रश्न बिहिबार उपेन्द्र यादवलाई पनि नेपालगन्जका पत्रकारले सोध्नु भएको थियो ।
नेपालमा ठुला पार्टीले गरिरहेको गल्ती र कमजोरीहरुलाई अनुसरण गरेका कारण पनि मधेशबादी पार्टीले आफनो पहिचानलाई बलियो बनाउन सकिरहेका छैनन् । र यस्ता गल्तीलाई सच्याउन नसक्दा नै पार्टी विचार भन्दा व्यक्तिगत मनोइच्छाका आधारमा चलिरहेका छन् । यस्ता आरोपलाई जसपा नेपाल र अन्य मधेश केन्द्रित दलले सुधार गर्न जरुरी देखिन्छ ।