पाटे बाघको आक्रमणबाट एक महिला मृत्यु
Sunday, January 12th, 2025, 7:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, २८ पुस
बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मुक्तिपुर सामुदायिक वन किनारको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन जानुभएकी ठाकुरबाबा नगरपालिका वडा नमबर ७ कि एक महिलाको पाटे बाघको आक्रमणबाट आइतबार ज्यान गएको हो ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ शुन्दरपुरकी ४० वर्षीया पदमकला थापाको बाघको आक्रमणबाट ज्यान गएको ठाकुरबाबा वडा नम्बर ७ का वडा अध्यक्ष कलम बहादुर विष्टले जानकारी दिनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयसहितको टोलीले बाघले आक्रमण गरेको ठाउँदेखि करिब ७ सय मिटरभित्र गएर शव ल्याएको वडा अध्यक्ष विष्टले बताउनुभयो ।
पाटे बाघले आक्रमण गरी घिसार्दै लैजाने क्रममा ओराही खोला नजिकबाट टोलीले शव ल्याएका हो । शव पोष्टमार्टमका लागि सदरमुकाम गुलरिया पठाइएको छ । बकुवा नजिक मुक्तिपुर सामुदायिक वन किनारको चरिचरण क्षेत्र चौरमा बाख्रा चराउने क्रममा आज दिउँसो बाघले दिपकलालाई आक्रमण गरेको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डा.अशोक रामका अनुसार बाघ नियन्त्रणमा लिन सामुदायिक वनमा हात्तीसहित प्राविधिक टोली खटिसकेको छ । ढाटलगायतको अन्य प्रविधिको प्रयोगबाट नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षको हालसम्मको अवधिमा निकुञ्ज मध्यवर्ती क्षेत्रमा पाटे बाघको आक्रमणमा परि २ जनाको ज्यान गएको छ । पाटे बाघको आक्रमणबाट भदौमा बाँसगढिकी एक महिलाको ज्यान गएको थियो । यस्तै गैँडा र हात्तीको आक्रमणबाट यस आर्थिक वर्षमा २ जनाको ज्यान गएको निकुञ्जले जनाएको छ ।