माघ १२ गतेदेखि ‘तेस्रो डम्बर रानाभाट स्मृती कप–२०८१’ सुरु हुने
Monday, January 13th, 2025, 6:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २९ पुस
बाँकेको खजुरामा माघ १२ गतेदेखि ‘तेस्रो डम्बर रानाभाट स्मृती कप–२०८१’ सुरु हुने भएको छ । आयोजक हिमालय सामुदायिक क्लबले सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता माघ १९ गतेसम्म आयोजना हुने जानकारी गराएको हो ।
हिमालय सामुदायिक क्लबका अध्यक्ष किरण थापाले विगतमा प्रतियोगितामा १६ टिमको सहभागिता गराएको बताउँदै यस पटक पनि सोही संख्यामा फुटबल क्लबहरुको सहभागिता हुने बताउनुभयो ।
उहाँले हरेक वर्ष प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि हुँदै गएको बताउँदै ‘तेस्रो डम्बर रानाभाट स्मृती कप–२०८१’को विजेताले ६० हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफिको व्यवस्था रहेको बताउनुभयो । यस्तै उपविजेतालार्य ३५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफिको व्यवस्था रहेको उहाँले बताउनुभयो ।
‘तेस्रो डम्बर रानाभाट स्मृती कप–२०८१’का लागि हिमालयले क्लबले ६ लाख ८६ हजार १ सय १० रुपैयाँको अनुमानित बजेट व्यवस्थापन गरेको हिमालय सामुदायिक क्लबका सचिव जीवन कार्कीले बताउनुभयो ।
जसमा विजेताको खर्चबाहेक खेलकुद सामाग्रीका लागि १ लाख ५० हजार, रेफ्रि तथा अफिसियल लागि १ लाख, औषधि उपचारका लागि ५० हजार, उद्घाटन समारोहका लागि ६० हजार, समापन समारोहका लागि ६० हजार, खेलकुद संचालनका लागि १ लाख र विविधमा ७० हजार रुपैयाँ रहेको छ ।
‘तेस्रो डम्बर रानाभाट स्मृती कप–२०८१’ संचालनका लागि खजुरा गाउँपालिकाले २ लाख रुपैयाँ विनियोजन गरेको र बाँकी विभिन्न दाताहरुबाट व्यवस्थापन गरिने सचिव कार्कीले बताउनुभयो ।
आयोजकले माघ ११ गतेसम्म क्लब सहभागिताको मिति तोकेको छ भने शुल्क भने ३ हजार ५ सय तोकिएको छ ।