सम्पर्क शिक्षकलाई भूकम्पबारे अनुशिक्षण
Monday, January 13th, 2025, 7:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, २९ पुस
कोहलपुर नगरपालिकाले विद्यालय विपद् व्यवस्थापन सम्पर्क शिक्षकहरुलाई भूकम्प जोखिम न्यूनीकरण सम्वन्धी अनुशिक्षण गरेको छ ।
राष्ट्रिय भूकम्पीय सुरक्षा दिवसको अवसरमा कोहलपुर नगरपालिका अन्तगर्त रहेका सामुदायिक तथा संस्थागत विद्यालयका ६८ जना विपद् व्यवस्थापन सम्पर्क शिक्षकहरुलाई सैद्धान्तिक तथा अभ्यासका माध्यमबाट अनुशिक्षण प्रदान गरिएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीर बहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल भूकम्पको उच्च जोखिम देशहरुमा पर्छ । विगतमा गएका शक्तिशाली भूकम्पमा विद्यालय, शिक्षक तथा विद्यार्थीहरु बढी जोखिममा रहेको पाइएपछि जोखिम न्यूनीकरणका सवालमा सिकाई प्रदान गर्न विज्ञ समूहद्धारा अनुशिक्षण प्रदान गरिएको उहाँले बताउनुभयो ।
एक दिने अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्राकृतिक विपदीहरु वाजा बजाएर नआउने भएकाले यस्ता विपद्बाट जोगिन पूर्वसावधानी आवश्यक रहेको बताउनुभयो । उहाँले विगतका भूकम्पहरुको क्षती आंकलन गरेर त्योबाट जोगिन अपनाउनु पर्ने सावधानीका बारेमा शिक्षकहरुलाई सिकाउने र उनीहरुले विद्यार्थी तथा समाजमा जागरुकता प्रदान गर्ने भएकाले अनुशिक्षणको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
विपदको क्षेत्रमा क्रियाशील संगठन सशस्त्र प्रहरी नायव उपरीक्षक तिर्थराज न्यौपानेले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कोहलपुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक पवित्रा कुमारी थारुको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विक लगायतको सहभागिता रहेको थियो ।