माघदेखि महिनाको पहिलो शनिबार बजार बन्द गरिने
Monday, January 13th, 2025, 7:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ पुस
नेपालगन्जका खुद्रा व्यवसायीहरुको संयुक्त ज्ञापन पत्रलाई आत्मसाथ गर्दै खुद्रा व्यवसायी र तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्जबीच सोमबार व्यवसायिक छलफल भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफलमा प्रत्येक महिनाको पहिलो शनिबार व्यवसायिक विश्राम गर्ने निर्णय गरिएको खुद्रा व्यवसायी संघ नेपालगन्जका अध्यक्ष हिमनाथ पौडेलले जानकारी दिनुभयो ।
अध्यक्ष पौडेलका अनुसार यही माघ महिनादेखि नियमित रूपमा लागू हुने गरी महिनाको पहिलो शनिबार बन्द गर्ने निर्णय गरीएको छ । “यहाँका खुद्रा व्यवसायिहरुको भावनालाई लिखित रूपमा राखी आएको माग बमोजिम आफूहरुले सम्बोधन गर्दै महिनाको पहिलो शनिबार खुद्रा व्यवसाय बन्द गर्ने निर्णय लिएका हौ ।” पौडेलले भन्नुभयो ।
नेपालगन्ज बजारमा रेडिमेट होलसेल, जुत्ताको होलसेलहरुले पहिलेदेखि नै हप्ताको एकदिन पसल बन्द गर्ने गरेका छन् । त्यस्तै आउँदो माघ पहिलो शनिबारदेखि खुद्रा व्यवसायिले पनि महिनाको एकदिन विश्राम गर्ने भन्दै खुद्रा व्यवसायी संघ अहिले सुचना प्रवाह गर्ने र प्रचार गरिने अध्यक्ष पौडेलले बताउनुभयो ।
अहिले व्यवसाय त्यति राम्रो नरहेको अवस्थामा प्रत्येक हप्ताको एकदिन बन्द गर्न नसकिने तर महिनामा १ दिन भएपनि परिवारको लागि समय दिन सकिने भएकाले यस्तो माग गरिएको खुद्रा व्यवसायिहरुको भनाई छ ।
खुद्रा व्यवसायी मालिक आफै, कामदार पनि आफै हुने अवस्था छ, यस्तो अवस्थामा हामीले प्रत्येक हप्ता त बन्द गर्न सक्दैनौं तर महिनाको एक दिन भएपनि घरमा समय दिन सकिने नेपालगन्ज घरबारिटोलका व्यवसायी हरिश बोगटीले भन्नुभयो । ६ वर्ष अगाडि यो नियम लागू भएपनि तीन वर्षदेखि असफल भएकोमा पुन सुचारु गरिने भएको छ ।