अब अस्पतालहरूको वर्गीकरण खारेज, सबैले संक्रमितको उपचार गर्नुपर्ने : स्वास्थ्य मन्त्रालय
Monday, August 24th, 2020, 5:55 pm
amit
काठमाडौं, ८ भदौ । सरकारले यसअघि लेभल १, २ र ३ भनेर अस्पतालहरूलाई वर्गीकरण गरेको थियो भने अब ती सबलाई खारेज गर्ने निर्णय गरेको छ ।
ती अस्पतालको वर्गीकरण खारेज गरेर सबैलाई कोभिड अस्पताल बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।
सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि जिल्ला, प्रदेश र केन्द्रीय तहमै अस्पतालहरूलाई लेभल १, २ र ३ भनेर वर्गीकरण गरेको भएतापनि अब ती अस्पतालहरूको वर्गीकरण खारेज गरिएको छ ।
अब तोकिएका कोभिड अस्पतालहरूले मात्र आफै संक्रमितलाई भर्ना लिई उपचार गर्नुपर्ने छ । यसअघि भने केही अस्पतालहरूले संक्रमितहरूलाई अन्य अस्पतालमा रिफर गर्दै आएका थिए । जसले गर्दा संक्रमितहरूलाई समस्या पर्ने र सीमित अस्पतालहरूमा बेड अभाव हुने गरेको छ ।
यसैगरी संक्रमितको संख्या बढ्दै जाँदा अन्य अस्पतालहरूलाई पनि कोभिड अस्पताल बनाउन मन्त्रालयले तयारी गरिरहेको छ । अब यी अस्पतालहरूले ननकोभिड विरामीलाई पनि नियमित सेवा प्रदान गर्दै कोभिड विरामीको पनि उपचार गर्नुपर्ने छ ।