चराको बासस्थान लोप हुँदै
Sunday, January 19th, 2025, 6:39 pm
Kalpristha
रासस
जानकी, ६ माघ
राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आइतबारदेखि सुरुआत गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।
“प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीबाटै जलचराको गणना सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “यो नदीमा प्रायः यहाँका रैथानेसँगै आगन्तुक चरा आश्रित हुन्छन्”, निकुञ्ज प्रमुख कँडेलका अुनसार यस वर्ष चरा गणनाका क्रममा पहिलो दिनमै विभिन्न प्रजातिका चरा क्यामेरामा कैद भएका छन् ।
चरा गणनाका लागि राप्तीमा पुग्नुभएका चराविद् राम शाहीले पछिल्लो समयमा चराको बासस्थान लोप हुँदै गइरहेको बताउनुभयो । नदी, सिमसार क्षेत्र तथा जलासयमा मानवबाट हुने गतिविधिले गर्दा चराको बासस्थान लोप हुन पुगेको उहाँको भनाइ छ । “खोलानाला र नदीमा गरिने मानवीय गतिविधि चराको हितमा नभएकाले चराको बासस्थान लोप हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो ।
विगत तीन वर्षदेखि हरेक हिउँदे याममा चरा गणना गरिँदै आएकामा यस वर्ष पनि चरा गणनालाई निरन्तरता दिइएको संरक्षणकर्मी आशिष चौधरीले बताउनुभयो । उहाँका अनुसार बाँकेका नदी, सिमसार क्षेत्र तथा जलासयमा आगन्तुक चराको समेत बासस्थान रहेको पाइएको छ ।
चराको बासस्थानमा भइरहेका निर्माणकार्य, जथाभावी रूपमा भइरहेको विषादीको प्रयोग, मानिसको बढ्दो आवतजावतका कारण चराको बासस्थान लोप भएर संख्या घट्दो रहेको संरक्षणकर्मी चौधरीले बताउनुभयो । “मानवीय गतिविधिका कारण चरको बासस्थानमा धेरै नै अवरोध हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “हामी संरक्षण गर्नेहरू मात्र नभई स्थानीय र नदी वरपर बस्ने रैथाने पनि सजग हुन आवश्यक देखिन्छ ।”
चराविज्ञ, संरक्षणकर्मी, निकुञ्जका अधिकारी, सुरक्षाकर्मीलगायत टोली शनिबारदेखि राप्ती नदीमा चरा गणनाका लागि परिचालित भएको छ । उक्त टोलीले बाँकेमा रहँदा बाँके राष्ट्रिय निकुञ्ज, राप्ती नदी, सिमसार क्षेत्र तथा जलासयमा पुगेर चरा गणना गरिने बाँके निकुञ्जले जनाएको छ ।
गणनाका क्रममा उक्त टोली बाँकेको नेपालगन्जस्थित कान्ति ताल, बैजनाथमा रहेको सुतैया ताल, बर्दियाका सीमाक्षेत्र मानखोलालगायत स्थानमा पुग्ने चराविद् शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगन्जस्थित कान्ति तालमा संरक्षित पन्छी सारसको समेत बासस्थान रहेको छ । बाँकेमा योसहित तेस्रोपटक चरा गणना गरिएको छ ।