हरिप्रसाद रावतको स्मृतिमा क्याम्पसलाई स्मार्टबोर्ड हस्तान्तरण
Thursday, January 23rd, 2025, 9:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, १० माघ
बागेश्वरी बहुमुखी क्याम्पसका पूर्व सञ्चालक समितिका अध्यक्ष स्वर्गीय हरिप्रसाद रावतको स्मृतिमा स्मार्टबोर्ड हस्तान्तरणस गरिएको छ । स्वर्गीय रावतको जन्मदिनको अवसरमा पारेर क्याम्पसलाई स्मार्टबोर्ड हस्तान्तरण गरिएको हो । बिहीबार एक कार्यक्रमका बीच स्वर्गीय रावतका छोरा यमबहादुुर रावतले स्मार्टबोर्ड सहयोग गर्नु भएको हो । उक्त स्मार्टबोर्डको मुल्य १ लाख ७० हजार रुपैयाँ पर्छ । बागेश्वरी बहुमुखी क्याम्पसको विकासका लागि महत्वपूर्ण भूमिका खेलेका रावत दुई कार्यकाल सञ्चालक समितिको अध्यक्ष बन्नु भएको थियो ।
उक्त अवसरमा बोल्दै स्वर्गीय रावतका कान्छा भाइ तथा कोहलपुर नगरपालिकाका संस्थापक नगरप्रमुख लूटबहादुर रावतले आफ्ना दाईले कोहलपुरको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँका अनुसार अहिलेको क्याम्पस निर्माणका लागि रावतसहितका शिक्षासेवीहरुको भूमिका महत्वपूर्ण छ । आफू गाविस अध्यक्ष हुँदा क्याम्पसको विकासको लागि खेलेको भूमिकाबारे बताउँदै रावतले त्यतिबेला क्याम्पसलाई संस्थागत रुपमा दीर्घकालीन बनाउनुपर्छ भनेर पहल गरेको जानकारी दिनु भयो ।
यसैगरी स्वर्गीय रावतका छोरा यमबहादुर रावतले आफ्ना बुवाले वागेश्वरी बहुमुखी क्याम्पसको स्थापना र विकासको लागि महत्वपुर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘बुबाले क्याम्पसको लागि धेरै योगदान दिनुभयो । बुवाको जन्मदिनको अवसरमा बुबाले धेरै माया गरेको ठाउँमा केही सहयोग गरौ भन्ने लागेर सहयोग गरेको हो ।’
रावतले अहिले एउटा मात्रै स्मार्टबोर्ड सहयोग गरेको भन्दै आगामी बैशाखसम्म अर्को बोर्ड सहयोग गर्ने पनि घोषणा गर्नु भयो ।
स्मार्टबोर्ड हस्तान्त्रण कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दानबहादुर हमालले वागेश्वरी क्याम्पसलाई यो स्थानसम्म ल्याउन रावत परिवारको भूमिका अतुलनीय रहेको बताउनु भयो ।
प्रविधिमैत्री क्याम्पस बनाउन स्मार्टबोर्ड सहयोग कोशेढुंगा सावित भएको उहाँको भनाइ थियो । उक्त अवसरमा क्याम्पसका विद्यार्थी, प्रध्यापक तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।