नेपालगन्जमा मेयर तथा उपमेयर कप क्रिकेट सुरु
Saturday, January 25th, 2025, 8:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ माघ
नेपालगन्जमा शनिबारदेखि मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितालाई नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्टले उद्घाटन गर्नुभएको थियो । उहाँले बलिङ्ग र व्याटिङ्ग दुबै गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
सो क्रममा बोल्दै उहाँले प्रतियोगिताले यहाँका क्रिकेट खेलाडीहरुलाई अवसर मिल्ने भन्दै नेपालगन्ज, खजुरा, डुडुवा, जानकी लगायतका पालिकामा रहेका खेलाडीहरुका लागि यहाँ क्रिकेट रंगशालाको आवश्यकतामा जोड दिनुभयो ।

………..
साथै उहाँले नेपालगन्ज वडा नम्बर ६ मा रहेको तालमा क्रिकेट रंगशाला बनाउने योजनाको बिषय अदालतमा बिचारधिन रहेको पनि निर्माणका लागि आफुले त्यसको पहल पटक पटक गरेको स्पष्ट पार्नुभयो ।
‘फुल्टेक्रा तालमा त्रिकेट रंगशाला निर्माण गरिने योजनाका सम्बन्ध बारम्बर मैले कुरा उठाउने गरेको छु ।,’ नगर प्रमुख बिष्टले भन्नुभयो, ‘तर ताल मासेर संरचना निर्माणको बिरोध भएपछि मुद्दा अदालत पुगेको छ, यो अवस्थामा केही गर्न सकिँदैन ।’
मंगल प्रसाद माबिले आफ्नो खेल मैदान उपलब्ध गराएकोमा धन्यवाद दिँदै खेलका लागि आगामी दिनमा पनि आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । बाँके जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पुरुषतर्फ २४ र महिला तर्फ ९ वटा टिमको सहभागिता रहेको छ ।
शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा युवा सचेतना रनियापुर बिजयी भएको छ । उसले होप इन्टरनेशनल एकेडमीलाई ३७ रनले पराजित गरेको हो । टस जितेर पहिला व्याटिङ्ग थालेको सचेतनाले पुरै ओभर खेल्दै १ सय ६१ रन बनाएको थियो । उसले पुरै २० ओभरमा ९ विकेट गुमाएको थियो ।

……….
यस्तै होपले १ सय २४ रनमै समेटिएको थियो । खेलमा रनियापुरका इरफान खाँन म्यान अफ दि म्याच हुनुभएको छ । प्रतियोगितामा नयाँ युवाहरुले सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरुषतर्फको खेल नकआउटको आधारमा र महिलाहरुको खेल लिगकम नकआउटको आधारमा हुने प्रतियोगिता संयोजक सुनिल सिंह हमालले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष तर्फको विजेताले ७५ हजार, उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछ । महिलातर्फको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । पुरुष र महिला तर्फको म्यान अफ द सिरिजले जनही ५ हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगिता संयोजक हमालले मेयर कप पुरुष क्रिकेटमा नेपालगन्ज उपमहानगरपालिकाले ५ लाख र संघले १ लाख ५० हजार रुपैयाँ खर्च गर्नेछ । उपमेयर कप महिला क्रिकेट आयोजना गर्न उपमहानगरपालिकाले १ लाख र संघले ५० हजार रुपैयाँ सहयोग गरेको हमालले बताउनुभयो ।

…….