लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके रानाभाटको नेतृत्वमा चयन
Sunday, January 26th, 2025, 8:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ माघ
नेपालगन्जका साहित्यकार भरत बहादुर रानाभाटको अध्यक्षतामा लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको नयाँ कार्यसमिति चयन गरिएको छ ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको अध्यक्ष प्रकाश गिरी ‘निश्चल’को अध्यक्षतामा शनिवार नेपालगन्जमा सम्पन्न लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको तेस्रो अधिवेशनले नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनु भएका लोकप्रिय साहित्यकार रानाभाटको अध्यक्षतामा चयन भएको लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके शाखाको नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा चन्द्रावती अधिकारी (कोहलपुर), सचिवमा करिस्मा योगी (नेपालगन्ज), सहसचिवमा वालकृष्ण शर्मा तथा कोषाध्यक्षमा पुष्पा सुवेदी आचार्य रहनु भएको छ ।
यसैगरि सदस्यहरुमा फणिन्द्र आचार्य, डम्बर विश्वकर्मा, सतिश निरौला, सीता सुनगाभा पोखरेल चयन हुनु भएको छ । साहित्यकार ऋषि आजादको नेतृत्वमा रहेको लुम्बिनी वाङ्मय प्रतिष्ठानको संस्थापक अध्यक्ष स्व. हिमलाल ज्ञवाली हुनुहुन्थ्यो । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा शाखा रहेको प्रतिष्ठानको केन्द्रीय अधिवेशन आगामी फाल्गुनको १० गते दाङको लालमतियाका हुन लागेको नवनिर्वाचित अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।
उक्त अधिवेशनमा केन्द्रीय समितिको तर्फबाट कोहलपुर वाङ्मय प्रतिष्ठानकी का.वा. अध्यक्ष कथाकार सुमित्रा न्यौपानेलाई सम्मान गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्रज्ञा सदस्य हरि प्रसाद तिमिल्सिनाले साहित्यकार न्यौपानेलाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य महानन्द ढकाल, विश्व नेपाली साहित्य महासंघ, लुम्बिनी प्रदेश शाखाका अध्यक्ष लेक प्रसाद प्याकुरेल, प्रतिष्ठानकी केन्द्रीय सदस्य मीना बराल, प्रगतिशील लेखक संघ बाँकेका अध्यक्ष साहित्यकार पुष्पमणि प्रधानलगायत साहित्यकारहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।
केही वर्ष सुषुप्त अवस्थामा रहेको बाँके शाखाको पुनः नेतृत्व लिएपछि उपस्थित अतिथि र साहित्यकारका सामु प्रतिवद्धता व्यक्त गर्दै नव चयनित अध्यक्ष रानाभाटले मलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै आफुले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक वहन गर्ने बताउनुभयो ।