चौलागाई निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा चयन
Sunday, January 26th, 2025, 8:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ माघ
नेपाल निजामती कर्मचारी सङ्गठन बाँकेको अध्यक्षमा देवीलाल चौलागाई निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट कर्मचारी सङ्गठन बाँकेको नेपालगञ्जमा सम्पन्न ११ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
सङ्गठनको उपाध्यक्षद्वयमा थानेश्वर न्यौपाने र पुष्पा केसी, सचिव पदमा तेजेन्द्र रोकाय, सह–सचिवमा गणेश बहादुर खड्का, र कोषाध्यक्षमा सदन भण्डारी चयन हुनुभएको छ ।
समिति सदस्यहरूमा शर्मिला सुवेदी, रञ्जना घर्ती, सुशीला न्यौपाने, वसुन्धरा ज्ञवाली, राम कुमार पाठक, धर्म भण्डारी, कृष्ण बहादुर खडका, जीवन रावत, प्रकाश खडका, ओम बहादुर शाही, मेघराज बराल र राम बहादुर थापा रहनुभएको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा हरि बहादुर खत्री, बसन्त कुमार थापा, केसर कुमार चपाइ, घनश्याम केसी, दुर्गा महतलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा लक्ष्मीकान्त मिश्र, नन्दा नेपाली र प्रतीक मल्ललाई छनौट गरिएको जिल्ला जिल्ला कोषाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
नयाँ गठन भएको कार्यसमितिले सङ्गठनको हक, अधिकार र सुधारका लागि तथा निजामती कर्मचारीको हित संरक्षण र संस्थागत विकासका लागि सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएको छ ।
अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, प्रतिनिधि सभा सदस्य दिपा शर्मा, एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङ, सङ्गठनका नेता एवं एमाले बाँकेका कार्यालय सचिव कृष्ण कुमार थापासहित पदाधिकारीहरू लगायतले मन्तव्य राख्दै नागरिकको सेवालाई प्राथमिकतामा राखेर सङ्गठनलाई मजबुत बनाउनुपर्ने धारणा राख्नुभएको थियो । अधिवेशनमा नरैनापुरलाई उत्कृष्ट पालिका कमिटीको रुपमा सम्मान गरिएको थियो ।