जानकीका नयाँ प्रमुख बिकको स्वागत
Monday, January 27th, 2025, 7:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ माघ
बाँकेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विकलाई सोमवार स्वागत गरिएको छ ।
गाउँपालिकामा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा अध्यक्षहरु मो.रजा राई, चन्द्रिका प्रसाद गुप्ता, राजकुमार कुर्मी, कार्यपालिका सदस्यहरु राम अचल धोवी, कान्ति काँदु, वडा सदस्यहरु र कर्मचारीहरुले प्रशासकीय अधिकृत विकलाई स्वागत गर्नुभएको हो ।
प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपालीको सरुवा भएपछि उहाँको ठाउँमा विक आउनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत विकको स्वागतमा आयोजित कार्यक्रममा अध्यक्ष खाँले जानकीलाई राम्रो बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृतको पनि अहम् भूमिका हुने भएकाले जुनकुनै पार्टीबाट आएका जनप्रतिनिधी भएपनि अधिकृतले ईन्साफको कक्षमा बस्ने हुँदा सबैलाई मिलाएर सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
सो क्रममा प्रमुख प्रशासकीय अधिकृत बिकले भन्नुभयो, पानीको तलाउमा पौडी खेल्न गयौँ भने हामीलाई पौडी खेल्न पनि मन लाग्ने र माछाले पनि टोक्छ भनी डराउने र माछासँग पनि झगडा गर्ने गरियो भने त्यस तलाउमा पौडी खेल्न सकिँदैन ।
जनप्रतिनिधी भनेको राजनीतिक तलाउको माछा भएको र आफुहरु त्यही तलाउ भएकै ठाउँमा जागीर खानुपर्ने भएको बताउँदै जनप्रतिनिधी र कर्मचारीहरुबिच राम्रो सम्बन्ध भएमात्र पालिकालाई माथी उठाउन सकिने अधिकृत बिकले बताउनुभयो ।
यस्तै योजना शाखाकी प्रमुख एवं कार्यवाहक समेत सम्हाल्नुभएकी शोभा पौडेलले अधिकृत बिकको राय, सल्लाह, सुझाव अनुसार काम गर्ने बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख दल वहादुर रानाले स्वागत गरेको कार्यक्रमलाई राजेन्द्र वाजपेयीले सन्चालन गर्नुभएको थियो ।