ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले फेरियो मटेराको मुहार
Monday, January 27th, 2025, 7:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, १४ माघ
तुलसीपुर उप–महानगरपालिका वडा नम्बर १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले तोरी, चना, केराउ खेतीबाट प्रशस्त आम्दानी गर्नुभएको छ । लिफ्ट सिँचाइले उहाँ सफल किसान बन्नुभएको हो ।
“पहिले नौ बिघा जमिनमा तोरी, चना र केराउ खेती गरेपनि उत्पादन कम हुन्थ्यो तर अहिले पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ । लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो”, उत्पादन वृद्धिको रहस्य सुनाउँदै उहाँले भन्नुभयो ।
उहाँले पाँच बिघामा तोरी र बाँकी भूमिमा केराउ तथा चना खेती गर्नु भएको छ । उहाँ बेमौसमी साग सब्जी लगाउने योजनामा हुनुहुन्छ । कृषि उपज बेचेर बितेको याममा आफूले रु पाँच लाख बचत गरेको उहाँले बताउनुभयो । उहाँ कृषि औजरको भरपूर उपयोग गर्ने किसानका रुपमा पनि मटेरामा परिचित हुनुहुन्छ । पूर्व वडासदस्य उहाँ हिजो आज राजनीतिबाट अलग हुनुहुन्छ । यद्यपि सामाजिक काममा गाउँलेले उहाँलाई नै सम्झन्छन् ।
मुश्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजो आज सधैँ खेती हुने गरेको छ । साग सब्जी फलाउने गाउँका रुपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ । यही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले तोरी तथा साग सब्जी बेचेर आर्थिक रुपमा आफू आत्मनिर्भर भएको बताउनुभएको छ । उहाँले तीन बिघामा तोरी र तीन बिघामा साग सब्जी रोप्नुभएको छ ।
उहाँ आफ्ना उत्पादन स्वयं बजार पु¥याउनु हुन्छ र आफै बेच्नु हुन्छ । टमाटर, काउली र धनियाँ बिक्री गरेर रु डेढ लाख आम्दानी गरेको उहाँले बताउनुभयो । तोरी बेचेर अर्को रु तीन लाख ५० हजार बचत गरेको उहाँले आल्हादित हुँदै सुनाउनुभयो । सबै खर्च कटाएर त्यति मुनाफा आर्जन भएको हो । थाप्लामा भारी बोकेर साग सब्जी बेच्नुपर्ने बाध्यता नभएकोमा उहाँ मक्ख हुनुहुन्छ ।
मोटरमा कृषि उपज बजारसम्म लैजाने उहाँमात्र हुनुहुन्न उहाँका छिमेकी पनि उत्तिकै परिश्रम गर्छन् । जसले उनीहरुलाई आर्थिक रुपमा सबल बनाएको छ । मटेरा गाउँका एक सय घरका परिवार लिफ्ट सिँचाइका माध्यमबाट कृषि कर्म गरिरहेका छन् । एक करोड ५० लाख खर्चेर बबइको पानी लिफ्ट सिँचाइ आयोजनामार्फत किसानका खेतबारीमा पुगेपछि मटेराको मुहार फेरिएको हो ।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले मटेरा र लुहाडबरा गाउँलाई ‘स्मार्ट’कृषि गाउँ घोषणा किसानलाई तालिम, अनुदानमा कृषि औजार र बीउ वितरण गरी व्यावसायिक रुपमा कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको छ ।