‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१’: न्यू दर्पण युवा क्लब खजुरा बिजयी
Monday, January 27th, 2025, 8:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १४ माघ
बाँकेको खजुरामा जारी ‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१’ प्रतियोगितामा सोमबार भएको खेलमा न्यू दर्पण युवा क्लव खजुरा नम्बर ४ ई गाउँ बिजयी भएको छ ।
धौलागिरी विद्यालयको खेल मैदानमा जारी प्रतियोगितामा न्यू दर्पण युवा क्लबले भिलेज होप राँझालाई हराएको हो ।
निर्धारित समयमा कुनैपनि गोल नभएपछि पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा न्यू दर्पणका क्याप्टेन प्रेस सुनारले गोल गर्दै जित दिलाउनुभएको थियो ।
खेलमा क्यापटेन सुनारले खेल सकिन १ मिनेट बाँकी रहेको बेला पेनाल्टीमार्फत गोल गर्न सफल हुनुभएको थियो ।
आयोजक हिमालय सामुदायिक क्लबका सचिव जिवन कार्कीका अनुसार प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ६० हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफिको पाउने छ ।
प्रतियोगिता संचालनका लागि खजुरा गाउँपालिकाले २ लाख र बाँकी विभिन्न दाताहरुबाट व्यवस्थापन गरिएको क्लबका अध्यक्ष किरण थापाले बताउनुभयो ।
प्रतियोगिताको फाईनल माघ १९ गते हुनेछ ।