व्यवसायलाई मर्यादित र सुरक्षित बनाउने अधिवक्ता ज्ञवालीको प्रतिवद्धता
Monday, January 27th, 2025, 8:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ माघ
नयाँ युवा कानुन व्यवसायीलाई पेशामा टिकाउँदैं आम कानुन व्यवसायीको आर्थिक सुरक्षालाई बलियो बनाउने कानुनी व्यवसायी ईश्वरी प्रसाद ज्ञवालीले बताउनु भएको छ । नेपाल कानुन व्यवसायी परिषद् लुम्बिनी प्रदेश पार्षदको उम्मेदवारी घोषणा गर्दै अधिवक्ता ज्ञवालीले समग्र कानुनी सेवालाई मर्यादित र सुरक्षित बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सोमबार नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन लुम्बिनी प्रदेश प्रचार प्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा अधिवक्ता ज्ञवालीले आफनो प्रतिवद्धता घोषणा गर्नु भएको थियो । आगामी माघ २६ गते शनिबार हुन लागेको नेपाल कानुन व्यवसायी परिषद्को निर्वाचनमा ज्ञवालीले मदन कुमार पुनसँग प्रतिस्पर्धा गरिरहनु भएको छ । हरेक वर्षको अन्तरमा हुने नेपाल कानुन व्यवसायी परिषद्को निर्वाचनमा लुम्बिनी प्रदेशका ७ सय ९५ जनाले नयाँ नेतृत्वको छनोट गर्नेछन् । बाँके र बर्दियाबाट ३ सय २० जनाले कानुन व्यवसायीले मतदान गर्नु हुनेछ ।
२५ वर्ष देखि कानुनी सेवामा सक्रिय भएर काम गर्नु भएका ज्ञवालीले कानुन व्यवसायीको क्षमता अभिवृद्धि गर्ने, समय सापेक्ष नयाँ कानुन निर्माण तथा संशोधन गर्ने, आम कानुनी व्यवसायीको सुरक्षाको लागि कानुन व्यवसायी संचित कोष स्थापना गर्ने, वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने लगायतको योजना रहेको बताउनु भयो ।
वृहत लोकतान्त्रिक समावेशी समुहको समर्थनमा उम्मेदवारी दिनु भएका ज्ञवालीले कानुनी शिक्षा अध्यापन गराउने विश्वविद्यालय तथा क्याम्पसहरुले पुरा गर्नु पर्ने न्युनतम शैक्षिक नीति तया गर्न, मापदण्ड निर्धारण गर्न पहल गर्ने, कानुनी शिक्षाको संस्थागत विकासको लागि आधारभुत तथा विशिष्टकृत तालिम एवम् प्रशिक्षण, कार्यशाला गोष्ठि, अन्तरक्रिया गर्ने,कानुनी व्यवसायीको क्षमता अभिवृद्धि गर्न ल फर्मको स्थापना गरी व्यवसाय संचालन गर्न आर्थिक तथा भौतिक सहयोगका लागि सापटी सुविधा कोष स्थापनामा पहल गर्ने, कानुन व्यवसायीको परिक्षा केन्द्रहरुलाई आवश्यकता अनुसार थप गर्न पहल गर्ने, नेपाल बार काउन्सील अन्तर्गतका विभिन्न समितिमा अनिवार्य रुपमा प्रादेशिक एवम समावेशी प्रतिनिधित्वको सुनिश्चिताको लागि पहल गर्ने, परिषदको प्रतिनिधित्वलाई समावेश गराउने, कानुन व्यवसायीको आचारसंहितालाई अनिवार्य रुपमा कार्यान्वयन गरी व्यवसायलाई मर्यादित बनाउँदैं प्रभावकारी संयन्त्र निर्माण गर्ने लगायतका प्रतिवद्धता रहेको बताउनु भयो ।