मेयर कप क्रिकेटमा युभीसीसी कोहलपुर ३ विकेटले विजयी
Friday, February 7th, 2025, 9:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ माघ
नेपालगन्जमा जारी मेयर कप क्रिकेट प्रतियोगितामा युभीसीसी कोहलपुरले जित हासिल गरेको छ । शुक्रबार मंगलप्रसाद माविको खेल मैदानमा युभीसीसी कोहलपुरले ज्यागवर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको छ । सुरुआतमा टस जितेर ब्याटिङ गरेको ज्यागवारले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३५ रन बनाएको थियो । टोलीका लागि अमन श्रेष्ठले उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ५१ रन बनाउनु भयो ।
उहाँले ४७ बलमा ७ चौका र १ छक्का प्रहार गर्नु भएको थियो । यसैगरी ग्यागवारका लागि मनोज यादवले ३३ रन, अफताब अन्सारीले २१ रन बनाउनु भयो । युभीसीसी कोहलपुरका लागि उत्कृष्ट वलिङ गर्नु भएका सौगात रानाभाटले ४ विकेट लिन सफल हुनु भयो । खेलमा प्लेयर अफ द म्याचबाट पुरस्कृत रानाभाटले ४ ओभरमा १ मेडन ओभर वलिङ गर्दै १६ रनमात्र दिनु भएको थियो । त्यस्तै आदर्श थापाले २ विकेट लिनु भयो ।
जवाफमा युभीसीसी कोहलपुरले निर्धारित लक्ष्य १८.५ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ३६ रन बनाउँदै जित हासिल गरेको थियो । टोलीको जितमा सौगात कार्कीले ५५ रन बनाउनु भएको थियो । सौगातले ४९ बलमा ९ चौका र १ छक्का प्रहार गर्नु भएको थियो । कोहलपुरका हर्सिल शाहीले अविजित १६ रन बनाउनु भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच घोषित रानाभाटलाई नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले पुरस्कृत गर्नु भएको थियो ।
बाँके जिल्ला क्रिकेट संघको आयोजनामा भैरहेको प्रतियोगितामा पुरुष तर्फ २५ र महिला तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार, उपविजेताले ३५ हजार पाउनेछ । यसैगरी महिला तर्फको विजेताले २५ हजार र उपविजेताले १५ हजार पाउनेछ ।