बाँके प्रहरीको एक महिने प्रगती: ६५ जना अभियुक्त पक्राउ, १ किलो बढी ब्राउन सुगर बरामद
Sunday, March 16th, 2025, 8:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ चैत
बाँके प्रहरीले आइतबार एक महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरीले बाँकेमा जिल्लामा गत एक महिनामा भएको सम्पादित कार्यहरुको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पछिल्लो समय बाँके प्रहरीले प्रत्येक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुखका रुपमा तुल बहादुर कार्की आएपछि प्रहरीले मासिकरुपमा गर्दै आएको सम्पादित कार्यको प्रगति विवरण मासिकरुपमा नै सार्वजनिक गर्ने गरेको छ ।
सार्वजनिक गरिएको प्रगति विवरण अनुसार फागुन महिनामा ३ हजार ६ सय १४ वटा सवारी साधानलाई कारवाही गरिएको छ । भन्सार छलिको सामानसहित ३ जना व्यक्ति र ४ वटा मोटरसाईकल पक्राउ गरेको छ । यसरी फागुनमा प्रहरीले १४ लाख ७१ हजार ८ सय ७५ रुपैयाँ बराबरको भन्सार छलिको अवैध सामान पक्रउ गरेको छ भने सवारी साधान कारवाहीबाट २९ लाख ११ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ ।
यसैगरी बाँकेका विभिन्न ठाउँमा नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न भएका ४ ववटा टिप्पर र २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । उनीहरुबाट ४८ हजार जरिवाना असुल पनि गरिएको छ भने ३ लाख ७६ हजार ८ सय १० रुपैया मुल्य बराबरको भारतबाट ल्याइएका अबैध ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय परिसरमा भएको सम्मेलनमा विवरणबारे जानकारी गराउँदै बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक पातलीले अपराध अनुसन्धान तथा कारवाहीतर्फ १ सय २ जना व्यक्तिलाई पक्राउ गरि कारवाही गरिएको बताउनुभयो । उहाँका अनुसार यस महिनामा मात्रै १ सय ३१ वटा मुद्दा दर्ता भएका थिए । दर्ता भएका मुद्दासँग सम्बन्धितमध्ये यतिलाई पक्राउ गर्न सफल भएको प्रवक्ता पातलीले बताउनुभयो ।
यस्तै यसअघिदेखि नै फच्छ्र्यौट गर्न बाँकी रहेका ६५ वटा मुद्दा यस महिनामा समाधान गरिएको छ । यसमा ६५ जना फरार अपराधी पक्राउ गरिएको छ भने १५ बर्ष २ महिना १८ दिन कैद र ४ लाख ३५ हजार ५५ रुपैया जरिवाना असूल उपर गरिएको छ । जिल्लामा आएका ४ सय १४ वटा ठाडो उजुरीमध्ये ३ सय ९६ फच्छ्र्यौट गरिएको र १८ वटा फच्छ्र्यौट गर्न बाँकी रहेको प्रवक्ता पातलीले जानकारी दिनुभयो ।
प्रहरीले जिल्लामा लागू औषधबिरुद्ध अभियान पनि चलाएको जनाएको छ । योजनाबद्धरुपमा संचालन गरिएको अभियानबाट १ किलो १ सय ६ ग्राम ४ सय १६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ भने नेपालमा प्रतिबन्धित ५ हजार ट्याब्लेट ट्रामाडोल औषधी बरामद गरेको छ । विवरण अनुसार ४ किलो २ सय ग्राम चरेससमेत बरामद गरेको छ भने यस्ता लागू औषध ओसारपसारमा संलग्न २२ जनालाई पक्राउ गरि काुनूनी दायरामा ल्याइएको छ ।
यसैगरी विभिन्न ठाउँबाट हराएका ३ वटा मोटरसाईकल र १ वटा साईकल फेला पारेर सम्बन्धित धनिलाई बुझाईएको छ भने हराएका २१ वटा आइफोन र एन्ड्रोईड मोबाईल फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको छ ।
महिला बालबालिकासंग सम्बन्धित अपराध अनुसन्धानतर्फ भने १५ वटा मुद्दा दर्ता भएकोमा ११ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । घरेलु हिंसाका ३१ वटा उजुरी प्राप्त भएकोमा २४ वटा फच्छ्र्यौट भएको र बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको छ । हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा प्राप्त भएको ४६ वटा निवेदनमा १५ जना फेला पारी अभिभावकको जिम्मा लगाईएको र अन्यको खोजीक्रम चलिरहेको प्रवक्ता पातलीले बताउनुभयो ।
यस्तै भारत जान लागेका ८१ जना महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको सीमानाकाबाट उद्वार गरेको बाँके प्रहरीले जनाएको छ भने अलपत्र अवस्थामा १५ जनालाई फेला पारी संरक्षणको लागि संस्थामा पठाइएको छ ।
समुदाय प्रहरी सहकार्य अन्तर्गत १ सय ६० वटा सचेतनामुलक कार्यक्रम गरिएको छ । जसमध्ये लैङ्गिक हिंसा, लागू औषध सम्बन्धि सचेतना, आत्महत्या न्यूनिकरण सम्वन्धि सचेतना, अल्पसंख्यक संग प्रहरी, नागरिक सुनुवाई, समुदाय प्रहरी साझेदारी, साईबर अपराध र चोरी सम्बन्धि सचेतना लगायतका कार्यक्रम संचालन गरिएको थियो ।
यस्तै ट्राफिक सचेतनातर्फ २ सय ५१ वटा सचेतनामुलक कार्यक्रम (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईट) संचालन गरीएको छ भने आन्तरिक सुदृढीकरण प्रयासतर्फ बाँके प्रहरीले उत्कृष्ट कार्य गर्ने १४ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । र आचरण बिपरित कार्य गर्ने ३ जना प्रहरी कर्मचारीलाई बिभागिय कारवाही गरिएको प्रवक्ता पातलीले बताउनुभयो ।