डाँफे कप : भिलेज होप डुडुवा बिजयी
Sunday, March 23rd, 2025, 9:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १० चैत
बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगितामा आईतबार भएको खेलमा भिलेज होप डुडुवा विजयी भएको छ । भिलेज होपले न्यू भगवती स्पोट्र्स क्लब बैजनाथलाई शून्यका बिरुद्ध १ गोल गर्दै विजयी बनेको हो ।
खेल सुरु भएको २७ औं मिनेटमा भिलेज होपका सन्देश शाहीले गरेको गोल नै निर्णायक गोल बन्यो । न्यु डाँफे स्पार्टस् क्लव खजुरा डि गाउँको आयोजनामा भएको गजबहादुर सिजाली स्मृती १० औं डाँफे कपमा १६ टिमले सहभागिता जनाएका छन् ।
खेलको म्यान अफ दि म्याच भिलेज होपका सन्देश शाही घोषित हुनुभयो । म्यान अफ दि म्याच खेलाडीलाई समाजसेवी पूर्व खेलाडी बालवीर थापा र फायर फूड एण्ड रेस्टुरेन्टका संचालक इन्द्रबहादुर सोनीले नगद १ हजार १ सयका साथै ट्रफी र मेडल प्रदान गर्नुभएको थियो ।
न्यू डाँफेका संस्थापक सिंजालीले स्थापना गरेको सम्झनामा क्लबले खेल सञ्चालन गरेको हो । बाँके जिल्लाकै दोस्रो रङ्गशाला खजुरा डिगाउँमा रहेको मिनी रङ्गशालामा न्यु डाँफेले हरेक वर्ष जसो यसवर्ष पनि खेल सञ्चालन गरिरहेको क्लबका अध्यक्ष हरी प्रकाश बिकले जानकारी दिनुभयो ।
खेललाई दशौँ संस्करणसम्म आइपुग्दा खजुरा क्षेत्रकै गौरवको प्रतियोगिता बनेको खेल संयोजक तिलकवीर सुनारले बताउनुभयो । खजुरामा सञ्चालन हुने खेलहरू मिनी रङ्गशालामै गर्न सकिए थप खेलाडी उत्पादन गर्न सहज हुने पूर्व राष्ट्रिय फुटबल टिमका खेलाडी सुरेश थापाले बताउनुभयो ।
आज सोमबार हुने खेलमा योङ व्याइज स्पोट्र्स क्लब बैजनाथ र जिल्ला प्रहरी कार्यालय बाँकेबीच प्र्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको फाइनल चैत्र २१ गते हुने क्लबका सचिव बालाराम खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा करिब आठ लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ८० हजार रुपैया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय, उत्कृष्ट गोल किपरलाई ५ हजार ५ सय र उत्कृष्ट स्कोलरलाई ५ हजार ५ सय रुपैयासहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।