लोकमानका ज्वाइले पनि जरिवाना तिर्नुपर्ने
Sunday, January 8th, 2017, 8:06 pm
amit
काठमाडौं-सर्वोच्च अदालतले लोकमानका ज्वाइँ प्रवल थापालाई म्याद तामेलीमा अवरोध गरेको भन्दै एक हजार रुपैयाँ जरिवाना गरेको छ। सर्वोच्चले कार्कीको योग्यतासम्वन्धी मुद्धाका साथै अदालतको मानहानीसम्वन्धी मुद्धामा आइतबार फैसला सुनाएको छ । अख्तियार प्रमुखमा नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अदालतले लोकमान सिंह कार्कीलाई पदमुक्त हुने फैसला सुनाएको छ ।आइतबार न्यायाधीसत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दप्रसाद भट्टराई र सुनिलकुमार सिन्हाको पूर्ण इजलासले म्याद तामेलीमा आफै उपस्थित भएर बाधा विरोध गरेकोभन्दै लोकमानका ज्वाइँ प्रवल थापालाई जरिवाना सुनाएको हो।
लोकमानका ज्वाईँ थापाले कार्तिक १ गते लोकमानको घरमा म्याद बुझाउन अदालतलाई अबरोध गरेका थिए।
प्रवल थापासँगै तामेलादार शम्भुबहादुर खत्री, काठमाडौं वडा नम्बर १० का वडा सचिव सरिता राई, खरिदार भेषराज अर्याल र प्रहरी सब इन्स्पेक्टर नकुलराज गौतमले मुलुकी ऐन अ. बं. १११ नं प्रतिकूल काम गरेको देखिएको ठहर छ र जनही १ हजार जरिवानाको फैसला सुनाएको छ ।
साथै तामेदार खत्री, वडा सचिव राई र सब इन्स्पेक्टर गौतमलाई कर्तव्य पालना नगरी न्यायिक प्रक्रियामा अवरोध गरेकाले विभागीय कारबाही गर्न आदेश पनि दिएको छ ।