मेरो टुकी प्रज्ञालयले मनायो ८औँ वार्षिकोत्सव
Saturday, April 5th, 2025, 8:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ चैत
नेपालगन्जमा अवस्थित मेरो टुकी प्रज्ञालय स्कुलले आफ्नो ८ औँ वार्षिकोत्सव शनिवार विविध कार्यक्रम गरी मनाएको छ ।
वार्षिकोत्सव समारोहमा बालबालिकाले विभिन्न नृत्य र सांस्कृतिक प्रस्तुति गरेका थिए । १७ वटा नृत्य र सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी प्रशिक्षिका मनिषा परियारले गर्नुभएको थियो । समारोहमा कक्षा १ सम्मका १६ जना बालबालिकाले सितोरियो कराँतेका विविध काँता प्रदर्शन गरेका थिए । प्रज्ञालयमा कराँते प्रशिक्षक सकिल राइनले प्रशिक्षण दिनुहुन्छ ।
समारोहमा शैक्षिक सत्र २०८१ सालमा विविध विधामा उत्कृष्ट बालबालिकालाई पुरस्कृत गरिएको थियो । प्रज्ञालयले प्रोफेसर हावर्ड गार्डनरले प्रतिपादन गरेको ८ बहुवौद्धिक क्षमताका आधारमा हरेक बालबालिकालाई मन्चमा बोलाई सम्मानित र पुरस्कृत गर्ने गरेको संचालक प्रिन्सिपल कल्पना शर्माले बताउनुभयो । प्रज्ञालयले हरेक बालबालिकालाई समान व्यवहार गर्ने उहाँको भनाइ थियो ।
बालबालिकालाई डां शंकर केसी, विनोद अग्रहरी, डा सपना शर्मा, डा नवीन तिमिल्सेना, संचालक प्रिन्सिपल शर्मा तथा प्रज्ञालयका संस्थापक भोजराज शर्माले प्रमाणपत्र तथा उपहार प्रदान गरेका थिए ।
बी.सं २०७४ मा स्थापित प्रज्ञालयले शिक्षासँगै व्यवहार ज्ञान, प्रज्ञा, संस्कार र सिर्जना र मनोवैज्ञानिक समानतालाई प्राथमिकता दिएको संस्थापक संचालक भोजराज शर्माले बताउनुभयो ।
धम्बोझीमा अवस्थित कक्षा ३ सम्म संचालन अनुमति पाएको प्रज्ञालय निजी शैक्षिक गुठी हो ।