च्याउ खेतीबाट राम्रो आम्दानी गर्दै नेपालगन्जकी आशा
Tuesday, April 8th, 2025, 5:22 pm
Kalpristha
भिष्म लोध
नेपालगन्ज, २६ चैत
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझाकी आशा सार्की स्वास्थ्यकर्मी हुनुहुन्छ । लामो समयदेखि वडा नम्बर २० मा रहेको प्रसुति सेवा केन्द्रमार्फत उहाँले धेरै महिलाहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नुभएको छ भने पछिल्लो समय उहाँ स्वास्थ्य सेवासँगै च्याउ खेतीतर्फ आकर्षित हुनुभएको छ ।
केही समयअघि उहाँले गरेको च्याउ खेतीले राम्रो प्रतिफल दिएपछि उहाँले च्याउ खेतीतर्फ थप आकर्षित गरेको उहाँले बताउनुभयो । हुनत आशाले २०५९ सालदेखि पार्वती च्याउ फर्ममार्फत च्याउ खेती गर्दै आउनुभएको छ । स्वास्थ्य सेवासँगै सामान्य च्याउ खेती गर्दै आउनुभएको उहाँलाई अब व्यवसायीक रुपमा नै च्याउ उत्पादन गर्न प्रेरणा मिलेको छ । आशाले यो वर्ष २०८१ को भदौमा लगाउनुभएको च्याउले राम्रो आम्दानी भएको बताउनुभयो । उहाँले कन्य च्याउ खेती गर्दै आउनुभएको हो ।
उहाँका अनुसार यो च्याउ खानामा मिठो र शरीरका लागि फाइदाजनक छ । भदौमा च्याउ फलाउन सुरु गर्नुभएको उहाँले यो वर्ष ३ चरणमा बेच्नुभएको थियो । यसबाट उहाँले लगानीको दोब्बर मुनाफा कमाएको पनि बताउनुभयो । उहाँका अनुसार एक सिजनमा करिब पौने दुई लाख बराबरको च्याउ बिक्री गर्नुभएको छ । च्याउ खेतीबाट राम्रो भएपछि उहाँलाई व्यवसायीकरुपमा गर्न प्रेरणा मिलेको हो ।

…….
अघिल्लो वर्ष च्याउ खेतीबाट करिब तीन लाख रुपैयाको च्याउ बिक्री गर्नुभएको थियो । च्याउ खेतीका लागि यो पटक तीन वटा घर निर्माण गर्नुभएको थियो । उहाँले उत्पादन गर्दै आउनुको च्याउ नेपालगन्ज मात्रै नभएर बाहिर जिल्लामा समेत पठाउने गर्नुभएको छ । अन्य जिल्लाबाट पनि माग आउँछ त्यही अनुसार उत्पादन भएको च्याउ त्यहाँ पनि पठाउने गरिएको छ, आशाले भन्नुभयो । उहाँका अनुसार उत्पादित च्याउ जुम्ला, हुम्ला, कालिकोट, मुगु र काठमाण्डौं विक्रीका लागि पठाइएको थियो ।
‘नेपालगन्जमा पनि बेच्ने गरेका छौं । यहाँका उपभोक्ताले पनि आफुले उत्पादन गरेको च्याउ खोज्दै आउनुभएको छ,’ आशाले भन्नुभयो, ‘ताजा हुने भएकाले हामीले खोज्दै आउनुहुने उपभोक्ताका साथै घरमै पनि पु¥याउने गरेका थियौं । यसरी आफूहरुले उत्पादन गरेको च्याउन बिक्री गरिएको थियो ।’ च्याउ खेती गर्नका लागि भने आफुले स्वास्थ्य सेवा प्रदानमा कहिल्यै समस्या हुने वातावरण सिर्जना नगरेको उहाँले बताउनुभयो ।
प्रसुति सेवा केन्द्रमा स्वास्थ्य सेवा लिन आएको बेला घरका अन्यले आफुलाई सघाउने गरेको आशाले बताउनुभयो । ‘स्वास्थ्य सेवा मेरो पहिलो प्राथमिकता हो, कसैको ज्यानसँग खेल्ने अधिकार कसैलाई हुँदैन,’ आशाले भन्नुभयो, ‘च्याउका लागि मेरो समय भनेको फुर्सदको समय हो, अरु बेला परिवारका सदस्यले सहयोग गर्छन् ।’ स्थानीय महिला समूहमा आवद्ध आशा धेरै पहिला महिला समूहका लागि संचालन भएको तीन दिनको तालिममा सहभागि भएका महिलाहरुले गरेको देखेर च्याउ खेती गर्न सिक्नुभएको थियो ।
त्यसपछि उहाँलाई फुर्सदको समयमा केही गर्नुपर्छ भनेर च्याउ खेती गर्नतर्फ प्रेरित गरेको उहाँले बताउनुभयो ।
महिला समूहमा आवद्ध भएकाले पनि उत्पादित च्याउ सहजरुपमा बिक्री गर्न सफल भएको उहाँको भनाई छ । धेरै ठुलो नभएपनि सामन्य खालको घर बनाएर च्याउ खेती गर्दै आउनुभएका आशाले अब भने व्यवसायीकतालाई जोड दिनुभएको छ । उहाँले करिब छ बिगाहा जग्गा लिजमा लिनुभएको छ । उक्त जग्गामा च्याउका ठुला घर निर्माण गर्ने, माछापालन गर्ने लगायतका योजना बढाउनुभएको छ ।
उहाँका अनुसार च्याउ खेती खेती गर्दा च्याउ खेतीका लागि चाहिने घर निर्माणमा लगानी अलि बढी लाग्ने गर्छ । गर्न चाहने हो भने नेपालमै स्वरोजगार बन्न सकिने आशाको भनाई छ । पछिल्लो समय देशबाहिर गइरहेका युवाहरुलाई केही गर्नुपर्ने सोंचको विकास गरेर उद्यम गर्न उहाँले सुझाव दिनुभयो । ‘सबैभन्दा पहिला यो काम गर्न चाहन्छु र सो काम गर्ने जोश जागर हुनुपर्छ, यो पेशा वा व्यवसाय गरे सफल हुन्छु भन्ने व्यक्तिमा आँट हुनुपर्छ,’ आशाले भन्नुभयो, ‘काम गरेपछि सफल भइन्छ भन्ने आफुलाई लागेको छ र सरकारले पनि केही गर्न चाहने व्यक्तिलाई सहयोग प्रदान गर्न सके अझ बढी व्यक्तिहरु स्वदेशमै यस्ता कार्यमा सक्रिय हुन सक्छन् ।