लुम्बिनी कपको उद्घाटनमा आर्मी र सुदुरपश्चिमले प्रतिस्पर्धा गर्ने
Monday, April 14th, 2025, 2:00 pm
Kalpristha
नेपालगन्ज, वैशाख १ गते
लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम एफसीले प्रतिस्पर्धा गर्ने भएको छन् । आयोजक अन्तरालले सार्वजनिक गरेको खेल तालिका अनुसार वैशाख ५ गते हुने उद्घाटन खेलमा नेपालको विभागीय टोली त्रिभुवन आर्मी र सुदुरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको दोस्रो दिन वैशाख ६ गते नेपाल पुलिस क्लब र भारतको सिलगुडी फुटबल क्लबले खेल्नेछन् ।वैशाख ७ गते प्रतियोगिताको तेस्रो खेलमा घरेलु टिम बाँके–११ र रौतहट जिल्ला फुटबल संघको टिमले खेल्नेछन् भने बैशाख ८ गते कर्णाली एफसी र सशस्त्र प्रहरी बल एपिएफले प्रतिस्पर्धा गर्नेछन् । वैशाख ९ गते प्रतियोगिताको पहिलो सेमिफाइनल र १० गते दोस्रो सेमिफाइनल खेल हुनेछ भने वैशाख १२ गते फाइनल खेल हुनेछ ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनु भयो ।
प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १५ सयको टिकट ब्यबस्था गरिएको छ । साथै विद्यार्थीहरुको लागि सहुलियतको पनि ब्यबस्था गरिएको आयोजकले जनाएको छ । खेल हेर्नको लागि भिआइपी प्यारापिट र नर्मल प्याराफिट अनुसार टिकटको ब्यबस्था गरिएको छ ।