बाँकेलाई हराउँदैं रौतहट सेमिफाइनलमा
Sunday, April 20th, 2025, 7:48 pm
Kalpristha
नेपालगन्ज, ७ गते वैशाख
रौतहट जिल्ला फुटबल संघको टिम लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालगञ्ज रंगशालामा भएको खेलमा रौतहटले आयोजक बाँके– ११ लाई ३–० ले पराजित गरेको छ । रौतहटको लागि जेनिफर राना मगर, समिक्षा राई तथा पियुली रोयले गोल गरेकी हुन् ।
खेलमा सिमरन राई प्लेयर अफ दि म्याच घोषित भइन् । राजकुमार दर्लामीको प्रशिक्षणमा रहेको रौतहटको टिममा अधिकांश खेलाडी नेपालको उमेर समूहबाट खेलेका खेलाडी थिए । रौतहटले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्याे ।
अब, रौतहटले फाइनल प्रवेशको लागि वैशाख १० गते विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबसँग खेल्नेछ । एपिएफले सोमबार कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ ।
जितपछि रौतहटका प्रशिक्षक भोजराज घिमिरेले धेरै गोल गर्न खोज्दा गोल ननिस्केको बताए । ‘स्कोर धेरै हुने अपेक्षा थियो । तर, खेलाडीले आफै धेरै गोल गर्न खोजेपछि हामीलाई गाह्रो भयो । मैदानको कारण पनि खेल्न गाह्रो भयो,’उनले भने, ‘विपक्षीपनि कमजोर देखियो । एपिएफसँग फेरी खेल्न पाउँदै छौं । हाम्रो खेलाडीलाई राम्रो अवसर हो । सुधार गर्दै खेल्छौं ।’

……….
हारपछि आयोजक बाँके ११ का प्रशिक्षक सानु तामाङले योजनाअनुसार खेल्न गाह्रो भएको बताए । ‘अपेक्षा अनुसार खेल्न सकेनौं । विपक्षी पनि निकै राम्रा थिए । सोचेको जस्तो खेल्न सकेनौं । आगामी दिनमा हामीलाई नयाँ खेलाडी र टिम मजबुद बनाउन अवसर देखियो । हामीले लगातार तयारी गर्याै भने टिम राम्रो बन्छ ।’
जेनिफर चम्किएपछि रौतहटले सहज जित निकालेको थियो । जेनिफरले खेलको २७औं मिनेटमा पहिलो गोल गरिन् । सेनु परियारले मिलाएको बललाई ६ यार्ड बक्सबाट जेनिफरले उत्कृष्ट हेडर गोल गरेकी थिइन् । दोस्रो हाफको सुरुमै रौतहटले दोस्रो गोल गर्याे । जेनिफरकै पासमा समिक्षा राई गोल गरिन् । जेनिफरकै पासमा भारतीय खेलाडी पियुलीले गोल गरेकी थिइन् ।
पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ , सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । आयोजक बाँकेसँगै सुदूरपश्चिम प्रदेश र भारतको सिलिगुरी एफसी बाहिरिएका छन् ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएकोे प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।