कसले जित्ला उपाधी
Thursday, April 24th, 2025, 7:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ बैशाख
पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल शुक्रबार नेपालगंज रंगशालामा हुँदैछ । फाइनलअघि भएको पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने योजना सुनाए । दुबै टोलीले आफु नै उपाधिको हकदार भएको पनि दाबी गरेका छन् ।
अपराह्न ४ बजे सुरु हुने फाइनल जित्दै पुलिस एपिएफको अपराजित यात्रामा पूर्ण विराम लगाउन चाहन्छ । २०७९ साल यता एपिएफलाई कुनै पनि टोलीले पराजित गर्न सकेको छैन । पुलिस पनि त्यसयता उपाधि विहिन छ । त्यसयता एपिएफले दुई पटक महिला लिग जितिसकेको छ । पछिल्लो महिला भएको इलाम र चितवन गोल्डकपको उपाधि पनि उचाल्यो ।

………
पुलिसका प्रशिक्षक सुमन सुवेदीले एपिएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेपनि उपाधि जित्न खेल्ने बताए । ‘एपिएफका अधिकांश खेलाडीसँग राष्ट्रिय टिमबाट खेलेको अनुभव छ । तर, पछिल्लो खेलहरु हामीले हेरेका छौं । हामी उसलाई हराउँदै च्याम्पियन बन्न खेल्छौं ।’
कप्तान निरु थापा पनि युवा खेलाडीले राम्रो प्रदर्शन गरेकाले उपाधि जित्नेमा विश्वस्त छिन् । ‘हाम्रा युवा खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । उनीहरुले नेपालगंजको यस्तो गर्मीमा पनि निकै राम्रो खेल्दा हामीलाई हौसला मिलेको छ ।’ पुलिसले लुम्बिनी कपको लागि युवा खेलाडीहरु मिना देउवा र सहारा लिम्बूलाई अनुबन्ध गरेको छ । दुबै खेलाडीले निकै राम्रो प्रदर्शन गरे । मिनाले प्रतियोगिताको उच्च गोलकर्ता बन्ने दाउमा छिन् । उनको नाममा दुई गोल छ । यस्तै, टिममा राष्ट्रिय टोलीबाट खेलिसकेकी समिक्षा घिमिरे, अमृता जैशी, सुस्मा तामाङ र उषा नाथसँगै कप्तान निरु थापा छन् ।
पुलिसले फाइनलमा पनि युवा खेलाडी निर्मला उपाध्याय, पुञ्जली कुस्वार, रेविका पाण्डे, अनुस्का शेर्पा, सेमिहाङ्मा लिम्बू, गंगा रोकाय जस्ता खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । चितवन र इलाममा आर्मीलाई हराएर उपाधि जितेको एपिएफले तेस्रो मोसफल फाइनलमा भने अर्काे विभागीय टोली पुलिस प्रतिद्वन्दी पाएको हो । यसअघि समूह ‘ए’ मा रहेको पुलिसले पहिलो खेलमा भारतको सिलिगुरी एफसीलाई ४–० ले हराएको थियो । सेमिफाइनलमा भने सडनडेथमा आर्मीलाई हराएको हो ।
पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी भएका थिए । यसअघि पहिलो चरणबाटै आयोजक बाँकेसँगै सुदूरपश्चिम प्रदेश, कर्णाली, रौतहट र भारतको सिलिगुरी एफसी बाहिरिसकेका छन् ।

………
आठ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । त्यस्तै विधागत सर्वाेत्कृष्ट खेलाडीले पनि मेडल प्राप्त गर्नेछन् । यता, एपिएफले पहिलो खेलमा कर्णाली प्रदेश फुटबल संघलाई ६–० ले हराएको थियो । सेमिफाइनलमा भने रौतहटलाई ३–० ले हरायो । सेमिफाइन्लमा राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश भएको एपिएफलाई रौतहटले निकै दबाब दिएको थियो । टोलीले गोलको लागि ७३औं मिनेट पर्खनु पर्याे ।
लगातार गोलको प्रयास गरेको एपिएफलाई रौतहटले रोकेको थियो । रौतहटका युवा खेलाडीले काउन्टर अट्याकमा दबाब दिएपछि एपिएफलाई खेल जित्न हम्मेहम्मे परेको थियो । गोलकिपर उषासँगै युवा खेलाडीहरु सेनु परियार, सिमरन राई, सविता चौधरी, जेनिफर राना, पियाली राओले सानदार प्रदर्शन गरेपछि एपिएफ निकै दबाबमा पर्याे । एपिएफको टिममा रौतहटविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफ अफ दि म्याच पाएकी अनिता केसी, कप्तान बस्नेतसँगै राष्ट्रिय टिमबाट खेलेका एक दर्जन खेलाडी छन् । एपिएफमै यो प्रतियोगितामा रौतहटबाट खेलिसकेका ८ खेलाडी छन् ।
एपिएफकी प्रशिक्षक भगवती थापाले रौतहटविरुद्ध दबाब भएपनि फाइनलमा पुलिससँग खेल्न तयार भएको बताइन् । ‘सेमिफाइनलमा सुरुमै गोल भएन । त्यसैले दबाब भयो । फाइनलमा हामी त्यस्तो हुन्न दिन्नौं,’ थापाले भनिन्, ‘यहाँको मौसमले पनि हामीलाई गाह्रो भएको हो । बिभागीय डर्बीमा हामी स्वभाविक खेल खेल्छौं ।’ एपिएफकी कप्तान अनिता बस्नेतले पनि उपाधि जित्न तयार भएको बताइन् । ‘अघिल्लो वर्ष लगातार तीन उपाधि जित्यौं । अब, ०८२ को पहिलो उपाधिको रुपमा लुम्बिनी कप भित्राउन तयार छौं ।’