लुम्बिनी कपको उपाधि एपिएफलाई
Saturday, April 26th, 2025, 3:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ बैशाख
विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार बाँकेको नेपालगन्ज रंगशालामा भएको फाइनलमा एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्याे । पुलिस अन्तिम समय सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो । १० मिनेट थपिएको इन्जुरी समयको अन्तिम मिनेटमा गीता रानाले हेडर गोल गर्नुभएको थियो ।

………..
आठ टोली सहभागी प्रतियोगिताको विजेता एपिएफले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेका छन् । बिजेता टिमलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

…….
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफको कप्तान अनिता बस्नेत, उत्कृष्ट गोल किपर नेपाल पुलिस क्लबको उषा नाथ, उत्कृष्ट रक्षक एपिएफको गिता राना, उत्कृष्ट मिड फिल्डर एपिएफको सरु लिम्बु, उत्कृष्ट स्टाईकर एपिएफको अनिता केसी र उत्कृष्ट प्रशिक्षकको ट्रफी एपिएफको भगवती थापाले जित्नुभयो । सर्वोत्कृष्ट खेलाडीले नगद रु २५ हजार र बिधागत रुपमा उत्कृष्ट हुनेले जनही दश हजार पुरस्कार प्राप्त गरेका थिए । एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले त्यसअघि महिला लिगको उपाधि उचालेको थियो ।
यसअघि समूह ‘बी’ मा रहेको एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । फाइनल प्रवेशको लागि भने टोलीले कठिन खेलमा रौतहटलाई ३–० ले हराएको हो । यता, समूह ‘ए’ मा रहेको पुलिसले पहिलो खेलमा भारतको सिलिगुरी एफसीलाई ४–० ले हरायो । सेमिफाइनलमा भने सडनडेथमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो ।
पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी भएका थिए ।