मोडर्नाको कोभिड १९ विरुद्धको खोप सबै उमेर समूहमा प्रभावकारी देखियो
Thursday, August 27th, 2020, 2:23 pm
amit
एजेन्सी, ११ भदौ । अमेरिकी कम्पनी मोडर्नाले उत्पादन गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप सबै उमेर समूहका लागि सुरक्षित र प्रतिरोधी क्षमता विकास गर्ने देखिएको कम्पनीका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
मोडर्नाकी संक्रामक रोग प्रमुख डा. ज्याक्लिन मिलरले दिएको जानकारी अनुसार सुरक्षा परीक्षणको पहिलो चरणको तथ्याङ्कबाट खोपले हल्का मात्र प्रतिकूल प्रभाव देखाएको र १८ वर्षदेखि ७१ वर्षसम्मका स्वयंसेवकहरुमा प्रतिरोधी क्षमता विकास गरेको पाइएको छ ।
पहिलो चरणको खोप परीक्षण तीन उमेर समूहमा गरिएको थियो – १८ देखि ५६, ५६ देखि ७० तथा ७१ वर्षभन्दा माथि । प्रत्येक स्वयम्सेवकलाई २८ दिनको अन्तरमा १०० एमजीको दुई डोज दिइएको थियो ।
खोप दिएपछि भाइरसलाई निस्क्रिय बनाउने एन्टीबडी धेरै उमेर भएकाहरुसहित सबैको शरीरमा पाइएको र सबै उमेर समूहले एउटै तहको प्रतिरोधी क्षमता विकास गरेको डा.मिलरले बताएकी छिन् । यो सुखद संकेत भएको उनले बताएकी थिइन् किनभने धेरै उमेर भएकाहरुको शरीरले प्रायः खोपप्रति कम प्रतिक्रिया जनाउने गर्दछ।
परीक्षणको तथ्यांक अनुसार सो खोपबाट देखिने प्रतिकूल प्रभावमा थकान, टाउको दुख्ने आदि रहेका छन् भने यस्ता लक्षण दोस्रो डोज लिएपछि अझ बढी देखिएतापनि तर, यी सबै दुई दिनभित्र हराउने पाइएको छ ।