एम्स अध्यक्ष पाको बोराओले नेपालगन्ज भ्रमण गर्ने
Saturday, May 17th, 2025, 7:17 pm
Kalpristha
कमल खत्री
धम्बोझी, जेठ ४ गते
म्याराथन तथा रोडरेसको विश्वव्यापी सञ्जाल एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स) अध्यक्ष पाको बोराओले नेपालगन्ज भ्रमण गर्नु हुने भएको छ । स्पेन निवासी पाको विश्वप्रसिद्ध भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुनुहुन्छ ।
एम्समा एक सय बीस देशका चार सय पचास बढी म्याराथन आबद्ध छन् । एम्सको बोर्ड बैठक र नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्सका क्रममा यही जेठ १९ गते काठमाडौं आउनु लाग्नु भएका अध्यक्ष पाकोले नेपालगन्ज भ्रमण गर्ने तालिका सुनिश्चित भएको नेपालका लागि एम्स दुत एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताउनु भयो । नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पहिलो पुर्णकालीन सदस्य हो ।
पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा दस बर्षदेखि नियमित आयोजना हुँदै आएको म्याराथनको रुट हेर्ने र स्थानीय अगुवासँग पाकोले अन्तरक्रिया गराउने तयारी गरिएको छ । यसको लागि निवर्तमान उपमेयर उमा थापालाई संयोजक र प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्यलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
संसारमा निकै लोकप्रिय मानिएको म्याराथन विधाको सर्वाेच्च निकायको प्रमुख नेपालगन्ज आउनु खुशीको खबर रहेको लुम्बिनी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्यसचिव भिम ओलीले बताउनु भयो । अध्यक्ष पाकोको भ्रमण फलदायी गराउने सवालमा शनिबार नेपालगन्जमा नागरिक स्तरबाट छलफल चलाइएको छ ।
नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले बाँके राष्ट्रिय निकुञ्ज भ्रमणदेखि मानसरोवर माउन्टेन फ्लाईट गराउने र स्थानीय कला संस्कृति देखाउन नाट्टाले सघाउने प्रतिबद्धता जनाउनु भयो । त्यसैगरी प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले विद्यार्थीको लागि हाइप्रोफाइल व्यक्तित्वसँग अन्तरक्रिया गराउन ठूलो अवसर भएको बताउँदै नेपालगन्ज म्याराथनको अभियानमा साथसाथै अघि बढिरहने वाचा गर्नु भयो ।
सुटिङका पुर्व अन्तर्राष्ट्रिय खेलाडी एवं प्रेस युनियनका पुर्व अध्यक्ष नरेन्द्र थापाले खेलाडीको सहरलाई एम्ससँग जोड्न पाउनु गौरवको बिषय भएको बताउनु भयो । नेपालगन्जका उद्योगी सञ्जय अग्रवालले खेलकुदसँग उद्योगी व्यवसायीलाई जोड्दै जानुपर्ने धारणा राख्नु भयो ।