खजुराको राधापुरमा पाँच दिने उद्घोषण तालिम सुरु
Friday, May 30th, 2025, 8:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ जेठ
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरका युवाहरुका लागि पाँच दिने उद्घोषण कला तालिम सुरु भएको छ । खजुरा गाउँपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा रंगशाला नेपाल मिडिया प्रालि नेपालगन्ज वडा नम्बर २ को आयोजनामा शुक्रबारदेखि युवाहरुका लागि पाँच दिने उद्घोषण कला तालिम सुरु भएको हो ।
तालिमलाई खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनबीर क्षेत्रीले व्यानर पढेर उद्घाटन गर्नुभएको थियो । सो क्रममा बोल्दै कार्यक्रमका प्रमुखसमेत रहनुभएका वडा अध्यक्ष क्षेत्रीले युवाहरुमा उद्घोषण कला हुन जरुरी रहेको बताउनुभयो । बोल्न नजान्नेहरुले अहिले अवसर पाउन मुश्किल रहेको भन्दै उहाँले हरेक व्यक्तिमा यो कलाको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
स्थानीयस्तरमा कुनै कार्यक्रम आयोजना गर्दा औपचारिक रुपमा राम्रो कार्यक्रम चलाउन सक्ने युवाहरुको कमी देखिन्छ, वडा अध्यक्ष क्षेत्रीले भन्नुभयो, त्यसकारण त्यस्ता समस्या यस तालिमले समाधान गर्ने र थप यसले व्यक्तिको जीवनमा सहज बनाउने आशा छ । यस्तै कार्यपालिका सदस्य एवं वडा सदस्य बिष्णु सुनारले स्वागत मन्तब्य राख्दै युवा युवतीहरुमा यो क्षमता हुनैपर्ने बताउनुभयो ।
कहीँ कतै कुनै प्रकारको कार्यक्रम हुँदा बोल्न डर लाग्ने गर्छ, सदस्य सुनारले भन्नुभयो, बोल्न चाहेपनि बोल्न सकिरहेका हुन्नन्, त्यसकारण यो क्षमता बृद्धि गर्नु जरुरी छ । यस्तै रंगशाल नेपाल मिडियाका प्रालिका अध्यक्ष कमल खत्रीले नेपालगन्जदेखि टाढा रहेको यस वडाका युवाहरुलाई यस्तो तालिमहरु प्रदान गर्नु आफैमा राम्रो कार्य वडाले गरेको बताउनुभयो । उहाँले मानिसले कतै कार्यक्रम चलाए नचलाएपनि क्षमता हुनु आफैमा राम्रो हुने बताउनुभयो ।
शुक्रबारदेखि सुरु भएको तालिमलाई यस क्षेत्रका चर्चित आरजे, भिजे र पत्रिकामा कार्यरत पत्रकारहरुले सहजीकरण गर्नुहुने आयोजकले जनाएको छ । तालिममा स्थानीय २० बढी युवाहरुको सहभागिता रहेको छ ।