कोहलपुरको विकासबारे पार्टी नेतृत्व र जनप्रतिनिधिबिच संवाद
Saturday, May 31st, 2025, 8:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, १७ जेठ
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १, बाँकेले आयोजना गरेको “विकास निर्माण सन्दर्भमा पार्टी नेतृत्व र जनप्रतिनिधिबीच संवाद कार्यक्रम” कोहलपुर नगरपालिकामा सम्पन्न भएको छ । पार्टीको सांगठनिक संरचना अन्तर्गत केन्द्रिय कार्यसमितिको १०० दिने अभियान, जिल्लाको ४ महिने अभियान र क्षेत्रीय कार्यसमितिको “टोल टोलमा कांग्रेस अभियान” अन्तर्गत कोहलपुर नगरपालिकाका १५ वटै वडामा झण्डै २ महिना सम्म सञ्चालन गरिएको अभियानका क्रममा उठेका समस्याहरूको समाधान तथा आगामी आ.व. २०८२/०८३ को बजेटमा सम्बोधनका लागि पालिका सम्वाद कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति नारायण प्रसाद गौडेलले नेपाली कांग्रेस निकटका जनप्रतिनिधिहरूको काम गर्ने शैलीले आम जनताको मन जित्न सफल भइरहेको दाबी गरे । उनले जनप्रतिनिधिहरूले जनताको भावना बुझेर, सरल, जिम्मेवार र पारदर्शी ढंगले काम गर्दै आएका कारण कांग्रेसप्रति जनविश्वास थप बलियो बन्दै गएको बताए । गौडेलले आगामी आव २०८२/०८३ को बजेटमा जनताको माग र प्राथमिकतालाई सम्बोधन गर्न माग गर्दै नगरपालिकाले बजेट सार्वजनिक गर्ने, सल्लाह सुझाव लिने र कार्यान्वयनको क्रममा समेत नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव दिए
कार्यक्रमको सभापतित्व गर्दै नेपाली कांग्रेस क्षेत्रीय सभापति पोषण केसीले पालिकास्तरमा सञ्चालन हुने विकास निर्माणका योजना र कार्यक्रमहरू पार्टीको विचारधारा, नीति र सिद्धान्तसँग मेल खानेगरी सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिए । उनले पार्टीले अघि सारेको “राष्ट्रियता, लोकतन्त्र र समाजवाद“ को मूल नारालाई व्यवहारमा उतार्नका लागि स्थानीय सरकार र पार्टी नेतृत्वबीच बलियो सहकार्य आवश्यक रहेको बताए । केसीले भने्, “हाम्रो पार्टीको दर्शन जनतासँग प्रत्यक्ष जोडिएको छ । त्यसैले विकास योजनाहरू बनाउँदा स्थानीय जनताको सरोकार र चाहना अनुसार नीति निर्माण र बजेट विनियोजन हुनु जरुरी छ। केवल शहरी सुन्दरताका नाममा सम्पन्न वर्गलाई मात्र लक्षित गरेर योजना बनाउने प्रवृत्ति अन्त्य गरेर गाउँ, टोल र सीमान्तकृत समुदायसम्म सेवा पुर्याउने खालका कार्यक्रम ल्याइनुपर्छ ।”
उनले पछिल्लो समय जनप्रतिनिधिहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भान केही स्थानमा देखिएको उल्लेख गर्दै कांग्रेस नेतृत्वले विकासको हरेक पक्षमा गहिरो निगरानी र निर्देशन दिनुपर्ने आवश्यकता औँल्याए । “पार्टीको विचार र नीति अनुसार काम नगर्ने प्रवृत्ति नियन्त्रण नगर्ने हो भने जनतामा कांग्रेसप्रतिको विश्वास कमजोर बन्न सक्छ,” उनले भने ।
केसीले जनतासँगको सम्पर्क सशक्त बनाउन पार्टी नेतृत्व, वडास्तरीय समिति र जनप्रतिनिधिहरूबीच नियमित संवाद र अन्तरक्रिया आवश्यक रहेको बताए। उनले आगामी बजेट निर्माण प्रक्रियामा वडास्तरका योजना समिति, टोल विकास संस्था र सर्वसाधारण नागरिकको सुझाव लिने व्यवस्था गरिनुपर्ने सुझाव समेत दिए । उनले पार्टी नेतृत्वले आफूलाई जनताप्रति जिम्मेवार ठान्दै नगरपालिकाभित्रका हरेक विकास निर्माणको निगरानी र मूल्यांकनमा सक्रिय भूमिका खेल्नुपर्ने बताए । “जनप्रतिनिधिले गरेका काम, योजना र बजेटको प्रभाव प्रत्यक्ष जनतासँग साक्षात्कार गरेर मात्र पार्टीले सही मूल्यांकन गर्न सक्छ,” केसीले भने । त्यस्तै, उनले युवाहरूको सक्रिय सहभागिता, महिला सशक्तीकरण, लैङ्गिक समानता, सामाजिक समावेशिता र साना लघु उद्यमका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै आगामी वर्षको बजेटमा यी विषयहरूलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउन नगरपालिकालाई आग्रह गरे । केसीले समापनमा भने, “जनताको भलो गर्ने भन्ने साँचो मनले काम गरे कांग्रेसको छवि झन मजबुत हुन्छ। हामी सबै मिलेर पार्टीको नीति, विचार र जनताको चाहना अनुसार विकास र सुशासनको अभ्यास गरौं ।”
विशिष्ट अतिथि लुम्बिनी प्रदेशसभा सदस्य अञ्जना पाण्डेले स्थानीय सरकारलाई जवाफदेही बनाउनु पर्ने बताईन् । जनप्रतिनिधिले जनताको सेवामा इमानदार रहनुपर्ने र पार्टीले निरन्तर निगरानी राख्नुपर्ने आवश्यकता औंल्याईन् । पाण्डेले स्थानीय तहमा विकास योजना छनोट गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । उनले कोहलपुर क्षेत्रको प्रमुख रोजगारीको माध्यम कृषि भएकाले कृषकहरूको जीवनस्तर उकास्ने र उनीहरूलाई आय–आर्जनमा उन्मुख गराउने दीर्घकालीन रणनीति आवश्यक रहेको धारणा राखिन् ।
पाण्डेले भनिन्, “आजको समयमा कृषि क्षेत्रको व्यावसायिकिकरण नगरी स्थानीय आर्थिक विकास सम्भव छैन । कृषकलाई अनुदान र सहुलियत दिनु मात्रै हैन, उनीहरूलाई सीप, प्रविधि र बजारीकरणको सुनिश्चितता समेत गरिनु पर्छ ।” उनले नगरपालिकाले कृषकमैत्री योजना तथा नीति निर्माण गरेर सीमान्त कृषक, साना किसान र महिला कृषकलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै कृषि उत्पादनमा विविधिकरण, कृषि सहकारीको सशक्तीकरण र स्थानीय कृषि बजारको स्थापना जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। “हामीले बर्सेनि बजेट छुट्याउँछौं, तर कृषकका वास्तविक समस्या भने जस्ताको तस्तै छन् । अब योजनाहरू कागजमा मात्र सीमित नराखी व्यवहारमा लागू हुने खालका ल्याउनुपर्छ,” उनले भनिन् ।
पाण्डेले कृषिमा आधारित लघुउद्यम र प्रशोधन उद्योग स्थापना गरेर कृषकलाई मूल्य अभिवृद्धि हुने वातावरण तयार पार्नुपर्ने आवश्यकता औंल्याइन्। उनले स्थानीय उत्पादनलाई बजार सुनिश्चित गर्न नगरपालिकाले सहजीकरण गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिँदै, “स्थानिय उत्पादनलाई उपभोक्तासम्म पुर्याउने सञ्जाल विकास नगरी कृषकले लगानी अनुसारको प्रतिफल पाउँदैनन्। त्यसैले योजना बनाउनुभन्दा पहिले कृषकसँग सिधा छलफल गर्नुपर्छ,” भनिन् ।
कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले कार्यक्रममा बोल्दै नगरको समग्र विकास र जनताको अपेक्षा पूरा गर्न सबै पक्षको सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरे। उनले विकासको प्रक्रिया केवल नगर कार्यपालिकाको जिम्मेवारीमा सीमित नभई जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सर्वसाधारण र सञ्चारकर्मीको संयुक्त प्रयासबाट मात्र सफल र दिगो बन्न सक्ने स्पष्ट पारे । आचार्यले भने, “हामी सबै मिलेर काम गर्छौं भने मात्रै नगरको विकासले गति लिन्छ। जुनसुकै योजना होस्, त्यसलाई जनताको चाहना, कार्यकर्ताको सल्लाह र नीति नियामक निकायको समन्वयमा अगाडि बढाउँदा मात्र परिणाम देखिन्छ ।”
उनले पछिल्ला वर्षहरूमा नगरपालिकाले साना र ठूला योजनाहरू सञ्चालन गर्दा देखिएका समन्वय अभावका कारण कतिपय योजनामा चुनौती देखिएको उल्लेख गर्दै अब भने नगरपालिकाले समन्वयात्मक शैलीमा काम गर्ने नीति लिएको बताए। “अब योजनाको छनोटदेखि कार्यान्वयन र अनुगमनसम्म सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्नेछौं,” आचार्यले बताए । नगरप्रमुख आचार्यले सामाजिक समावेशिता, लैङ्गिक समानता, युवा सशक्तीकरण, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै नगरपालिकाले सबै वडामा समावेशी विकासको मोडेल स्थापना गर्न प्रयत्नशील रहेको जानकारी दिए ।
नगरप्रमुख आचार्यले कोहलपुर नगरपालिकालाई शहरी कृषि, स्मार्ट नगर र हरित नगरको अवधारणामा लैजाने योजना बनाइरहेको उल्लेख गर्दै वातावरण संरक्षण, सफाइ व्यवस्थापन, कृषि बजार व्यवस्थापन र सहरी पूर्वाधार निर्माणमा सबै पक्षको सहकार्यमा काम गरिने जानकारी दिए । नगरप्रमुख आचार्यले यस्ता संवाद कार्यक्रमलाई नियमित रुपमा आयोजना गरिने र उठेका सुझावहरूलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।
नगर उपप्रमुख संगीता सुवेदीले पार्टीप्रति पूर्ण जिम्मेवार बन्दै स्थानीय जनता र आम कार्यकर्ताको भावना अनुसार काम गरिरहेको बताउँदै, “जनताको अपेक्षा, कार्यकर्ताको चाहना र पार्टीको नीति अनुसार काम गर्न हामी निरन्तर प्रयासरत छौँ। आगामी दिनमा अझ परिस्कृत शैली र पारदर्शी ढंगले काम गर्दै जनताको ढोका–ढोका पुगेर समस्या सुन्ने र समाधान गर्ने कार्यलाई संस्थागत बनाइनेछ,” भनी प्रतिबद्धता व्यक्त गरिन् ।
सुवेदीले सरकार, पार्टी र जनताबीचको सहकार्य नै सशक्त स्थानीय शासनको मूल आधार हुने उल्लेख गर्दै विकास योजनामा कसैलाई पनि पछि पार्न नहुने बताइन्। “हरेक समुदाय र टोलको आवश्यकताफरक हुन्छ, तसर्थ योजना बनाउँदा सम्बन्धित वडाबाटै सुझाव लिने र प्राथमिकतामा राख्ने अभ्यासलाई बलियो बनाइनेछ,” उनले भनिन् ।
सुवेदीले विगतका केही योजनाहरूमा देखिएका समन्वय र कार्यान्वयनका समस्यालाई चिर्दै आगामी वर्षको बजेटमा जनभावना अनुसारका कार्यक्रमलाई बढी प्राथमिकता दिने योजना रहेको जानकारी दिइन्। कार्यक्रममा सहभागी आम जनप्रतिनिधि र कार्यकर्ताहरूबाट आएका सुझाव र गुनासोलाई पनि ध्यानमा राखेर पालिकाले काम गर्ने स्पष्ट संकेत दिँदै उनले सबै पक्षसँग सहकार्यमा काम गर्ने दृढता व्यक्त गरिन् ।
कार्यक्रममा सहभागी नेताकार्यकर्ता र जनप्रतिनिधिहरूले पालिकाको विकासका सवालमा पार्टी नेतृत्व र जनप्रतिनिधिबीच नियमित संवादको आवश्यकता औँल्याउँदै “राष्ट्रियता, लोकतन्त्र र समाजवाद” भन्ने मूल नारालाई व्यवहारमा उतार्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए ।