अन्तिम सेकेन्डमा चुक्यो नेपाल
Sunday, July 13th, 2025, 10:03 pm
Kalpristha
साफ–महिला यु–२० च्याम्पियनसिप
कालपृष्ठ समाचारदाता
काठमाडौं, २९ असार
इन्जुरी समयको अन्तिम सेकेन्ड्स सम्हालिन नसक्दा नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिपमा बंगलादेशसँग ३–२ ले पराजय बेहोरेको छ । आइतबार ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा घरेली टोली विरुद्धको खेलमा नेपालले उत्कृष्ट कमब्याक गरेको थियो ।
पहिलो हाफमा दुई गोलले पछाडि परेको नेपालले निर्धारित ९० मिनेटमा २–२ को पुनरागमन जनाएको थियो । तर, इन्जुरी समयमा नेपाल अभागिशाली रह्यो । बंगलादेशको जितमा सिन्हा जहान शिखा, मोसम्मत सागोरिका र श्री मोती तृष्णा रानीले गोल गर्नु भयो । नेपालका लागि अनिशा राई र मीना देउवाले गर्नु भएको थियो ।
बंगलादेशले खेलको १३औं मिनेटमा अग्रता लियो । मिडफिल्डर मोसम्मत मुन्की अख्तरले बक्स भित्रबाट गरेको लोअर प्रहार गोलकिपर सुजता तामाङलाई बिट हुँदै गोलमा परिणत हुनै लाग्दा रक्षक गँगा रोकायाले गोल लाइन क्लियरेन्स गर्नु भयो । तर, बक्सभित्र कुनै पनि निगरानीमा नरहेकी सिन्हा जहान शिखाले बललाई पोस्टको दिशा दिनु भयो । मुन्कीले यसअघि नेपालका तीन खेलाडीलाई बिट गर्दै मौका सृजना गर्नु भएको थियो ।

……..
खेलको ३६औं मिनेटमा बंगलादेशले अग्रतालाई दोब्बर बनाएको थियो । लेफ्ट साइडबाट विंगर शान्ती मार्दीको क्रसलाई गोलकिपर सुजताले नियन्त्रणमा लिन सक्नु भएन । विपक्षी अग्रपङ्क्तिको ‘हाइ प्रेसिङ’मा सुजताले बललाई समात्न सक्नु भएन । जसको फाइदा स्ट्राइकर मोसम्मत सागोरिकाले लिनु भयो ।
खेलको ७७औं मिनेटमा नेपालले अनिशा राईको पेनाल्टी गोलमार्फत खेलमा फर्किने संकेत दियो । मोसम्मत जोयनब बिबि रिताले स्ट्राइकर मीनालाई लडाएपछि नेपालले सेटपीस अवसर प्राप्त गरेको थियो । अनिशाले गोलकिपर स्वर्ण रानी मण्डललाई कुनै मौका नर्दि गोल गर्नु भयो ।
निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा नेपालले बराबरी गोल गरेको थियो । लेफ्ट साइडबाट स्ट्राइकर पूर्णिमा राईको सुन्दर पासमा विपक्षी रक्षापङ्क्तिको निगरानीमा नरहेकी मीनाले वान टचमा गोल गर्नु भएको थियो ।
इन्जुरी समयको अन्तिम सेकेन्ड्समा उम्हेला माल्माको गतिलाई नेपाली रक्षक माया मास्केले रोक्न सक्नु भएन् । बेन्चबाट मैदान प्रवेश गरेकी उम्हेलाले राइट साइडबाट श्री मोती तृष्णा रानीलाई पास दिनु भयो । नेपाली रक्षकद्धय सरीता नाथ र अनिशा राईको बिचमा रहेकी श्री मोतीले वान टचमा सुजतालाई बिट गर्नु भयो ।
जितसँगै बंगलादेशले उपाधि सम्भावनालाई बलियो बनाएको छ । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९–१ ले पाखा लगाएको थियो ।
यो जितले बंगलादेशले स्पष्ट ६ अंक जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो । चार राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा डबल राउन्ड रोविन प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार श्रीलंकासँग खेल्ने तालिका छ ।