खजुराको बेलडाँडामा बृक्षारोपण अभियान सुरु
Monday, July 14th, 2025, 7:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ३० असार
खजुरा गाउँपालिका वडा नम्बर १ बेलडाँडाका स्थानीयले ९ हजार विरुवा रोप्ने लक्ष्य सहित बृक्षारोपण अभियानको सुरु गरेका छन् । मानखोलासँग जोडिएको ६ हेक्टर सार्वजनिक जमिनमा स्थानीयको अगुवाईमा बृक्षारोपण अभियानको सुरुआत भएको हो ।
स्थानीय जंग बहादुर गुरुङको अध्यक्षमा यस वर्ष हरियाली बेलडाँडा सार्वजनिक जग्गामा वन व्यवस्थापन उपभोक्ता समुह गठन गरेर बृक्षारोपण कार्यक्रमलाई अगाडी बढाइएको छ ।
सोमबार एक कार्यक्रमका बिच खजुरा गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनवीर क्षेत्रको अगुवाईमा अभियानको सुरुआत गरिएको छ ।
बृक्षारोपण अभियानको सुरुआत गर्दै वडा अध्यक्ष क्षेत्रीले हरियालीसँगै मानखोलाको कटानलाई रोख्नको लागि बृक्षारोपण सुरु गरिएको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘यो हाम्रो गाउँको लागि अति आवश्यक महत्वपुर्ण कुरा हो । हरेक वर्ष मानखोलाको कारण जमिन कटान भैरहेको छ । यसलाई रोक्दै वन जंगलको संरक्षण गर्ने अभियान सहित हामीले यस वर्ष समिति नै गठन गरेर काम सुरु गरेका छौं । यसले आगामी दिनमा अन्य योजना बनाएर हरेक वर्ष काम गर्नेछ । त्यसमा वडाले समेत बजेट बिनियोजन गर्नेछ ।’
यस वर्ष विभिन्न प्रजातीका करिब ४ हजार विरुवा रोपिने वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो । बेलडाँडामा बाँस, मौवा, बटर, सागुन, कदम, अमला, जामुन, बर्रा विरुवा रोपिएको थियो । ६ हेक्टरको केहि जमिनमा घाँस प्रजातीको विरुवाहरु पनि रोप्यो योजना रहेको स्थानीयले बताएका छन् ।
सोमबार स्थानीयसँगै राधापुर प्रहरी चौकीका प्रहरीले पनि बृक्षारोपण कार्यक्रममा सहकार्य गर्दै स्थानीयले सहयोग गर्नु भएको थियो ।

……..