फरारको सुचिमा वडा अध्यक्ष मोहनराम र तिलकवीर
Friday, August 8th, 2025, 8:04 am
Kalpristha
कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण
भिष्म लोध
नेपालगन्ज, २२ साउन
नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको घोटाला प्रकरणमा वतमान देखि निर्वतमान जनप्रतिनिधिहरु अनुसन्धानको घेरामा तानिएका छन् । उनीहरुको संलग्नता समेत रहेको भन्दैं मुद्दा दायर गरिएको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का बहालवाला वडाध्यक्ष मोहनराम मिश्र र खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान वडाअध्यक्ष तिलकवीर सुनार विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय बाँकेले १ सय ९ जना विरुद्ध मुद्दा दायर गरेको छ । त्यसमा जनप्रतिनिधि, चिकित्सक, बैंकका कर्मचारी, नेता, पूर्व जनप्रतिनिधि र अडिटरलगायत रहेका छन् ।
जसमध्ये चार जना पक्राउ परेको र दुई जनाको मुत्यु भइसकेको छ भने मुद्दामा अझै १०३ जना फरार रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा साउन १४ गते मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा पक्राउ परेका बैँकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायसहित पूर्व अध्यक्ष पशुपतिदयाल मिश्र र वित्त शाखा प्रमुख बेदप्रकाश सिंह ठकुरीलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउन बुधबार आदेश दिएको छ भने नेपाल राष्ट्र बैँकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलाशका सूचना अधिकारी बलबहादुर विष्टले जानकारी दिनुभयो ।
१०५ जनाको फरार सूचीमा रहेका राप्ती पोलिमर्स प्रालिका सञ्चालक महेशजङ्ग थापाको २०७८ साल वैशाख ३१ गते तथा कर्णाली डेभलपमेन्ट बैँकका तत्कालीन कर्मचारी धनन्जय कश्यपको २०८२ साल वैशाख ५ गते मृत्यु भएको थियो । बाँकी रहेका १०३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिने अदालतले जनाएको छ ।
कर्णाली डेभलपमेन्ट बैँकको घोटालामा फरार सूचीमा रहेका १०३ जनामध्ये बैँकका उच्च कर्मचारी, सञ्चालक, राजनीतिक दलका नेता, चिकित्सक र लेखा परीक्षकसमेत रहेका छन् । फरार सूचीमा रहेकामध्ये बैँकका अध्यक्ष डा.ओमप्रकाश मिश्र, पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत, निरजविक्रम शाह र विष्णुप्रसाद कक्षपति, बैँकका पूर्व नेपालगन्ज शाखा प्रमुख दीपा थापा हुनुहुन्छ ।
यस्तै डुडुवा गाउँपालिका वडा नम्बर ६ का बहालवाला वडाध्यक्ष मोहनराम मिश्र, खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान वडाअध्यक्ष तिलकबीर सुनार, वरिष्ठ चिकित्सक डा.उषा राणा शाह, राजनीतिक दलका नेता ओमप्रकाश आजाद र ओमप्रताप राणा फरार सूचीमा रहेको जनाइएको छ । यस्तै लेखापरीक्षक विनमकुमार श्रेष्ठ, भुवनप्रसाद गैरे, तुलाराम कुर्मी, केशवप्रसाद न्यौपाने र शुरेशचन्द्र श्रेष्ठ सो बैँक घोटालामा फरार सुचीमा हुनुहुन्छ । सिआइबीले प्रतिबादीबाट तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपियाँ तीन पैसा बिगो कायम गरेर उच्च अदालतमा मुद्दा दर्ता गरिएको थियो ।