संविधान पिता कोइरालाको जन्मजयन्तीमा बाँकेको नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने
Sunday, August 10th, 2025, 8:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ साउन
संविधानका पिता, नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ८५ औं जन्मजयन्तीका अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाको मटहैयामा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
नेपाली काँग्रेस, बाँके र नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेको सयुक्त आयोजनामा पर्सि साउन २८ स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो । काँग्रेसको सामाजिक कार्यक्रम अन्तर्गत दुरदराजका नागरिकलाई घरदैलोमै विशेष सेवा उपलव्ध गराउने योजना अनुरुप स्वास्थ्य शिविर आयोजना गर्न लागिएको पार्टी जिल्ला सभापति नारायणप्रसाद गौडेलले जानकारी दिनुभयो ।
बाँकेको नरैनापुर जिल्लाको सदरमुकाम नेपालगञ्जवाट टाढा रहेको छ भने जिल्लाका अन्य पालिकाको तुलनामा नरैनापुरमा पूर्वाधार वकास, सरकारी निकायको उपस्थिति, शिक्षा, स्वास्थ्यलगायतका सेवाको अवस्था कमजोर रहेको छ । सोही अवस्थालाई दृष्टिगत गरी सो गाउँपालिकालाई स्वास्थ्य शिविर आयोजनाका लागि छनोट गरिएको जनाइएको छ ।
स्वास्थ्य शिविर सञ्चालनका लागि बाँकेका केहि पालिकाहरु र शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रलिले प्राविधिक सहयोग उपलव्ध गराएको नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले बताउनुभयो । शिविरमा मूलतः फिजिसियन, रक्तचाप, मधुमेह, मुटुरोग, स्वासप्रश्वास र मृगौला सम्बन्धि रोगहरुको जाँच तथा परामर्श दिइने छ । शिविरमा शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रलिका डिएम नेफ्रोलोजिष्ट डा. सौरभसिंह हमालसहितको स्वास्थ्यकर्मीहरुले सेवा पुर्याउनु हुनेछ ।
शिविर शुभारम्भका अवसरमा नेपाली काँग्रेस, बाँकेका सभापति गौडेलसहितका पार्टी पदाधिकारी तथा कार्यकर्ताहरु, स्वास्थ्यकर्मी संघका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति रहने जनाइएको छ ।