रेवती सिंहको नेतृत्वमा विन बाँके नयाँ कार्यसमिति निर्वाचित
Wednesday, August 13th, 2025, 8:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, साउन २८ गते
रेवती सिंहको नेतृत्वमा महिला उद्यमी संघ नेपाल बाँकेको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । बुधबार नेपालगन्जमा भएको महिला उद्यमी संघ नेपाल बाँके(विन)को २२औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । संघको प्रथम उपाध्यक्षमा आभा गौतम, द्धितीय उपाध्यक्ष सुनिता पाण्डे, तृतीय उपाध्यक्ष सरिता शाक्य, महासचिवमा विन्दु चर्तिमगर, सचिवमा सुष्मा सुवेदी, कोषाध्यक्षमा कुसुम दुगड निर्वाचित हुनु भएको छ ।
यसैगरी कार्यसमितिको सदस्यहरुमा सुष्मा ज्ञवाली, शशी स्वाँर, सरिता चौधरी, शोभा टमारी श्रेष्ठ, गीता मौर्य, रेखा बोथरा, धनमाया लुइटेल (ऋचा), सरस्वती थापा, वसन्ता शर्मा र सिमिता राणा सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता सुनिता सुवेदीले बताउनु भयो ।
नवनिर्वाचित कार्यसमितिलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बधाई दिनु भएको थियो । समितिलाई महिला उद्यमी महासंघ नेपालको केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली, लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले सपथ ग्रहण गराउँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यसअघि भएको संघको वार्षिक साधारण सभा तथा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष साबित्रा बस्नेत पोखरेलले महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्दै उद्यमशिलता बढाउन आफनो कार्यकालमा महत्वपुर्ण कार्यक्रमको शुभारम्भ गरेको बताउनु भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख विष्टले महिलाहरुलाई उद्यमी बन्न संघको गरेको कार्यक्रमहरु प्रभावकारी रहेको बताउनु भयो । संघसँग सहकार्य गर्दै महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने कार्य नेपालगन्ज उपमहानगरपालिकाले सहयोग गर्ने प्रमुख विष्टले बताउनु भयो ।

……….
महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवालीले देशभरै बाँके विनले हरेक वर्ष रचनात्मक कार्यहरु गर्दै आफुलाई अब्बल संघको रुपमा चिनाउने बताउनु भयो । उहाँले भन्नु भयो,‘बाँके हाम्रो सक्रिय जिल्लामा पर्छ । कतिपय कुरा हामीले नेपालगन्ज आएर सिकिरहेको हुन्छौं । यहाँका उद्यमी महिलाहरुले उदाहरणीय कार्य गरेर महिला उद्यमीहरुलाई उत्प्रेरित गरिरहनु भएको छ ।’
यसैगरी सरस्वती शर्माको अध्यक्षतामा महिला उद्यमी संघ लुम्बिनी प्रदेश सर्वसम्मत रुपमा गठन गरिएको छ । लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित शर्मा विन बाँकेको संस्थापक तथा पुर्व अध्यक्ष हुनुहुन्छ । नेपालगन्जमै भएको एक भेलाले महिला उद्यमी संघ लुम्बिनी प्रदेशको पाल्पाकी सुनिता चन्द राणा उपाध्यक्ष, रुपन्देहीकी अनिता केसी सचिव, बाँकेकी अन्जु गुरुङ कोषाध्यक्ष, सदस्यहरुमा रोल्पाकी हिरा कुमारी घले, दाङकी यशोदा पाण्डे र बर्दियाकी उमा पन्त क्षेत्रीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
नवनिर्वाचित अध्यक्ष शर्माले आफनो दुई दशकको अनुभवलाई सदुपयोग गर्दै लुम्बिनी प्रदेशमा उद्यमी महिलाहरुको सिप, क्षमता र उद्यमशीलताको विकास गर्न योजना बनाएर काम गर्ने बताउनु भयो ।
यसैगरी बुधबार अन्जना पाण्डेलाई महिला उद्यमी संघ कोहलपुर नगर समिति संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । पाण्डेले पनि नगर समितिलाई पुर्णता दिने बताइएको छ ।