३५ लाख छात्रवृत्ति प्रदान गर्ने नेपालगन्ज क्याम्पसको घोषणा
Sunday, August 17th, 2025, 8:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ भदौ
आइटी क्षेत्रमा अध्यापन गराईरहेको नेपालगन्जको अग्रणी संस्था नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोेलोजीले विशेष छात्रवृत्ति कार्यक्रमको घोषणा गरेको छ ।
आइतबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोेलोजीले १२औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति कार्यक्रमको घोषणा गरेको हो ।
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोेलोजीले स्थापना भएदेखि नै विद्यार्थीहरुलाई गुणस्तरीय, व्यवहारिक र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्दै आएको छ ।
पछिल्लो समय १२ कक्षा उत्तीण गरेर धेरै विद्यार्थी उच्च शिक्षाको लागि विदेशिने प्रवृत्ति तीव्र रुपमा देखिदै आएको छ । यही समस्यालाई समाधान गर्ने प्रयास गर्दै नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोेलोजीले कम्प्युटर साईन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बिएससीसिएकआइटी) र ब्याचलर अफ कम्प्युटर एपलिकेशन(बिसिए) विषयमा अध्यापन गराउने गरेको छ ।
नेपालगन्ज क्याम्पसले यस वर्ष दुबै कार्यक्रममा १२–१२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । क्याम्पसका संयोजक अंकित श्रीवास्तवका अनुसार २ जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयद्वारा लिइने प्रवेश परीक्षामा उत्कृष्ट हुने दुई जना विद्यार्थीलाई प्रथम सेमेष्टरको सम्पूर्ण (ट्युसन फी) मा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।
यस्तै २ जना विद्यार्थीलाई ७५ प्रतिशत, २ जनालाई ५० प्रतिशत र ६ जना विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा कलेजले गरेको छ ।
दुबै कार्यक्रममा गरी क्याम्पसले ३५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति यस योजनामार्फत उपलब्ध गराइनेछ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी छनौट प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धात्मक हुने कलेज प्रमुख निशान्त शाक्यले बताउनु भयो ।
त्रिभुवन विश्वविद्यालय प्रवेश परीक्षाको नतिजा ४० प्रतिशत, क्याम्पस आफैंले लिने छात्रवृत्ति परीक्षा ४० प्रतिशत, महिला उम्मेदवारलाई प्रोत्साहन १० प्रतिशत र गरिब र जेहेन्दार विद्यार्थीको मूल्यांकन १० प्रतिशत अंकलाई मूल्यांकनको मापदण्ड बनाइएको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत छात्रवृत्ति योजना सुरु गरिएको शाक्यले बताउनु भयो । क्याम्पसले नेपालगन्जमै बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा अध्ययन गर्न सकिने वातावरण निर्माण गरेको र छात्रवृत्ति योजना त्यसकै एक हिस्साको रुपमा रहेको शाक्यले बताउनु भयो । पत्रकार सम्मेलनमा कलेज संचालक सदस्य वृजेश वैश्यले प्राविधिक शिक्षाले नेपालको आर्थिक विकासमा थप योगदान गर्न सक्ने बताउनु भयो ।
क्याम्पसले यस वर्ष बिएससीसिएकआइटी तर्फ ३६ जना र बिसिए तर्फ ३५ जना विद्यार्थीलाई भर्ना लिदैछ । क्याम्पसका अनुसार दुर्बै कोष पुरा गर्न विद्यार्थीको करिब ४ लाख खर्च हुनेछ ।