मध्यपुरथिमिमा कोरोना सङ्क्रमित महिलाको मृत्यु, नागरिक अस्पताल २ दिन बन्द
Friday, August 28th, 2020, 12:54 pm
amit
भक्तपुर, १२ भदौ । कोरोना भाइरस संक्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको हो ।
उच्चरक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको र आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्नेछ भने आजै मृतक परिवारको कन्ट्र्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने पाण्डेले जानकारी दिएकी छिन् ।
अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठका अनुसार बिरामी अस्पताल आइपुगेर उपचार शुरु गर्दा नै मृत्यु भइसकेको थियो । यहाँका डाक्टरले परिवारसँग बुझ्दा पाँचदिनदेखि ज्वरो आएको, वान्ता भएको, उच्च रक्तचापको औषधि सेवन गरिरहेको, घर मै बेहोस भएपछि अस्पताल ल्याएको जानकारी गराएपछि राति नै पीसीआर परीक्षणका लागि स्वाब पठाउँदा कोरोना सङ्क्रमण पुष्टि भएको श्रेष्ठले बताएका छन् ।
ती महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी आज र शनिबार दुई दिनका लागि बन्द गरिएको छ भने बिरामीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राख्ने र अस्पताललाई भाइरस निर्मलिकरण गरेर आइतबारदेखि मात्रै सञ्चालन गर्ने निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।