जेनजी प्रदर्शनमा सरकारको दमन: १९ जनाको मृत्यु, ४२२ घाइते
Tuesday, September 9th, 2025, 8:04 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २३ भदौ

………
सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।
नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार काठमाडौँ उपत्यकामा १७ र उपत्यका बाहिर २ जना गरी १९ जनाको मृत्यु भएको हो । प्रदर्शनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४१ जना प्रहरी घाइते भएका छन् ।
नेपाल प्रहरीका ३८ जना घाइते भएको र त्यसमध्ये १४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । त्यस्तै सशस्त्र प्रहरीका ३ जना घाइते भएका छन् । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ८ बजेसम्म देशभरिका विभिन्न अस्पतालबाट सङ्कलित तथ्यांक अनुसार आन्दोलनबाट ४२२ जना घाइते भएको जनाएको छ ।
बाँकेमा प्रदर्शन
जेनजीहरूले नेपालगन्ज र कोहलपुरमा सरकार विरोधी प्रदर्शन गरेका छन् । नेता चिल्लो गाडीमा, युवाजति खाडीमा, देश बेच्न पाइँदैन, सामाजिक सन्जाल बन्द गर्न पाइँदैन, नियमन गरलगायतको नारा लगाउँदै बाँकेको नेपालगन्ज र कोहलपुरमा प्रदर्शन गरिएको छ ।
नेपालगन्जमा वीपीचोकबाट सुरु भएको प्रदर्शनले बजार परिक्रमा गरेको थियो । चर्काे घाममा नारा लगाउदै हिडेका युवा पुनः वीपीचोकमा आएर कोणसभा गरेका थिए । उनीहरु नेपालगन्ज उपमहानगरपालिकाको अगाडि बसेर नाराबाजीसमेत गरेका छन् ।
कोहलपुरमा पनि प्रदर्शन गरिएको छ । प्रदर्शनको क्रममा एउटा म्याजिक गाडी तोडफोड गरिएको छ । कोहलपुरको चौराहामा बसेर नाराबाजी गरेका थिए । प्रदर्शनको क्रममा टायर पनि बालिएको थियो । प्रदर्शनमा कलेजका विद्यार्थी स्कुले पोशाकमा सहभागी भएका थिए । शान्ति सुरक्षालाई ध्यानमा राखेर प्रदर्शनमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
बुटवलमा कफ्र्यू, एमाले पार्टी कार्यालय घेराउ
जेनजीले बुटवलस्थित नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका छन् । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलत बनेका उनीहरूले बुटवलस्थित एमाले पार्टी कार्यालय घेराउ गरेका हुन् ।
स्वतःस्फुर्त प्रदर्शनमा उत्रिएका जेनजीहरूले यसअघि बुटवल उपमहानगरपालिकाको मुख्य गेट अगाडि प्रदर्शन गरेका थिए भने राजमार्ग केन्द्रित प्रदर्शन समेत गरेका थिए ।
जेनजीहरूको प्रदर्शनलाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कफ्र्यू समेत जारी गरेको छ । सोमबार अपराह्न चार बजेदेखि राति १० बजेसम्म कफ्र्यू जारी गरिएको हो ।
कर्णालीमा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन
कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय जेन–जीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको विरोध ¥याली घण्टाघर अगाडि कोष सभामा परिणत भएको थियो । ‘जुरुक्क जेनजी’ जीउँदो कर्णाली नामक अभियान थालेका युवाहरूले शान्तिपूर्ण आन्दोलन गरेका थिए ।
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । उहाँले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुभएको हो ।
उहाँले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको छ । आन्दोलनमा सरकारले व्यापक दमन गर्दा ठूलो मानवीय क्षति भएको छ ।
नेपालगन्जका एक युवाको मृत्यु

………
जेनजीहरूको प्रदर्शनका क्रममा बाँकेको नेपालगन्जका एक युवाको मृत्यु भएको छ । काठमाण्डौमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर नेपालगन्ज वडा नम्बर १ का सुलभराज श्रेष्ठको मृत्यु भएको छ ।
नयाँ बानेश्वरको प्रदर्शनमा गोली लागेपछि ट्रमा सेन्टरमा उपचारको क्रममा नेपालगन्जका २१ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठसहित ७ जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ ।
काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै श्रेष्ठ नेपालगन्जस्थित भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठको छोरा हुन् । सुलभ नरेन्द्रको एक्लो छोरा मात्र भएको वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले बताउनुभयो ।
सुलभको घर रहेको धम्बोझी शोकमा डुबेको छ । सुलभको घरमा छिमेकी र आफन्तहरुको भिड लागेको छ ।
आज निजी विद्यालयमा शोक विदा
प्याब्सन बाँकेले आज मंगलबार निजी विद्यालयमा शोक विदा दिएको छ ।
जेन–जी प्रदर्शनमा मृत्यु भएकाहरुको शोकमा आज मंगलवार एक दिन बाँकेका निजी विद्यालयहरुम शोक विदा दिइएको प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले बताउनुभयो ।
घटनाबारे छानबिन समिति बनाउने
जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको छ । समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।