युवा पत्रकारको रोल मोडल विरेन्द्र अर्थात ‘बिपी अस्तु’
Monday, October 6th, 2025, 10:04 am Kalpristha
सौरभ राना नेपालगन्ज, ९ असोज
विरेन्द्र जैशी ‘बिपी अस्तु’ भन्ने बित्तिकै पश्चिम नेपालको चर्चित पत्रकारको सुचिमा पर्ने नाम हो । नेपालगन्जलाई कर्मथलो बनाएर काम गरिरहनु भएका बिपीले पत्रकारिताको माध्यमबाट समाजमा भएका विसगंती, समस्यासँगै उत्प्रेरणाका समाचार लेखिरहनु भएको हुन्छ । पछिल्लो समय पत्रकारिता निष्पक्ष नभएको आरोप लागिरहन्छन । जनताको वास्तविक आवाज आउन नसकेको गुनासो आइरहन्छन । यस्तोमा थोरै पत्रकार छन् जसले भुईमान्छेका स–साना समाचारलाई सरोकारवाला सम्म पु¥याउने काम गर्छन् । त्यसमा बिपीको नाम अग्र स्थानमा आउँछ ।
पत्रकारिताको ओझ खस्कदै गएको नेपालगन्जमा बिपीका समाचारले नयाँ उत्साह र मार्गनिर्देशन गर्ने काम गरिरहेको छ । कुनै बेला बिपी रेडियो श्रोता हुनुहुन्थ्यो । त्यहीबाट उहाँलाई पत्रकारिताको चाख विस्तारै चड्दै गयो । पत्रकारितासँगै साहित्यमा पनि उत्तिकै अब्बल बिपी अहिले अब्बल पत्रकार हुनुहुन्छ ।
रेडियो सुन्न मन पराउने र रेडियोमा बोल्न रहर बोकेको श्रोता राम्रो लेख्ने पत्रकार बन्लान् भन्ने उहाँको गाउँका कमैेले सोचेका थिए । त्यही रेडियोको श्रोता आज पश्चिम नेपालमा चर्चा कमाएको नाम बनिसकेको छ । विद्यालयस्तरबाट नै रेडियो सुन्न मन पराउने बिपीलाई रेडियोमा बोलेको जस्तै आफुले पनि केही रचनाहरू सुनाउने रहरले रेडियोमै पु¥यायो ।
साहित्यिक रचना मन पराउने बिपी रेडियोमा बोल्ने क्रम समाचार वाचक हुँदै समाचारदातामा परिणत भयो । विज्ञान विषयमा अध्ययन गर्ने क्रममा रेडियो र एउटा विद्यालयमासँगै काम पनि गर्नुभएको विपीको रेडियोको हुटहुटीले पछि पूर्णरुपमा रेडियोमै समय बिताउन थाल्नुभयो । माध्यमिक तहको शिक्षा र उच्च माध्यमिक तहको अध्ययन पश्चात थप अध्ययनका लागि बिपी नेपालगन्ज शहर प्रवेश गर्नुभयो ।
……….
कैलाली जिल्लाको रेडियो नमस्ते टीकापुरमा साहुत्यिक कार्यक्रम सन्चालकबाट सुरु भएको उहाँको यात्रा नेपालगन्जमा रेडियो भेरी आवाजमा समाचारदाता र समाचारवाचकको रूपमा केही समय काम गर्नुभयो । त्यसपछिको समय थुप्रै संचारसंस्थामा काम गर्नुभएका हाल मिसन टुडे दैनिकमा वरिष्ठ संवाददाताको रूपमा कार्यरत हुनुहुन्छ । यसअघि बिपीले कालपृष्ठ दैनिकमा एक वर्ष संवाददाताको रूपमा काम गर्नुभयो । त्यो भन्दाअघि उहाँले केही समय दैनिक नेपालगन्जमा समेत छोटो समय काम गर्नुभएको थियो । तर उहाँका लागि कालपृष्ठमा बिताएको त्यो एक वर्ष छापा पत्रकारिताको कखरा पढ्ने अवसर बन्यो । बिपी पत्रकारितामा दख्खल राख्ने मात्रै नभएर साहित्य लेखनमा पनि रुचि राख्नुहुन्छ ।
विद्यालयतहदेखि नै साहित्यिक रुची सार्वजनिक हुन थालेको थियो । बिपी खासगरी आफ्नो काका र केही अरु गजलकारहरूबाट प्रेरित हुनुभएको थियो ।
त्यसरी प्रेरित हुनुभएका बिपीले बिशेषगरी नेपालगन्ज आएपछि कविता लेख्न थाल्नुभएको हो । उहाँको हाल एउटा कविता संग्रह प्रकाशोन्मुख छ । यतिमात्र नभएर देशमा आयोजना हुने साहित्यका ठूला र प्रतिष्ठित मन्चहरूमा कविता वाचन गर्ने एक चर्चित नामसमेत बनेको छ बिपी । पछिल्ला केही समयदेखि उहाँ कथा लेख्ने प्रयास गरिरहनुभएको छ ।
पत्रकारितामा मास्टर गरिरहनुभएका बिपीले पत्रकारितामा मात्रै नभएर साहित्यमा कमजोर बनाइएका वर्ग समुदायको आवाजको प्रतिनिधित्व गर्ने प्रयास गरिरहनु भएका छ । पत्रकारिताको पक्षधरता तथ्यलाई नछोडी कमजोर बनाइएका समुदायको मुद्दा बाहिर ल्याउन उहाँ तल्लिन हुनुहुन्छ । यी र यस्तै कर्मले पत्रकारिता क्षेत्रमा आउने नयाँ युवा पुस्ताको रोलमोडल बनिसक्नु भएको छ पत्रकार बिपी । आफनो दैनिक कर्मबाट पत्रकारिताको महत्वलाई बढाउन योगदान दिइरहनु भएका तिनै विरेन्द्र जैशी ‘बिपी अस्तु’लाई कालपृष्ठ दैनिकले आफनो २८औं वार्षिक उत्सवको अवसरमा प्रदान गर्दैछ ‘कालपृष्ठ युवा पत्रकारिता पुरस्कार–२०८२’ ।