फरक क्षमताकी राधालाई सुनिलले गरे आर्थिक सहयोग
Wednesday, October 15th, 2025, 7:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ असोज
गायक सुनिल सिंह ठकुरीले फरक क्षमता भएकी गायिका राधा विकलाई आर्थिक सहयोग गर्नु भएको छ । बाँके खजुरा गाउँपालिका ‘बी’ गाउँ निवासी राधा र उनका श्रीमान धन बहादुरले विभिन्न ठाउँमा गएर गाउँदै आफनो जिविका चलाउँदै आउनु भएको छ । सडकमा गाएर संकलन भएको आर्थिक रकमले नै विक परिवारको दैनिक गुजारा चल्ने गरेको छ ।
गायक ठकुरी पनि खजुरा ‘ए’ गाउँ निवासी हुनुहुन्छ । घरबाट नेपालगन्ज आउने क्रममा रिक्सामा ठकुरीको राधासँग परिचय भएको थियो । परिचय गर्दै जाँदा आँखा नदेखेपनि गायनमा राधाको लगाव निकै तारिफ गर्न लायकको रहेको ठकुरीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘यात्रा गर्ने क्रममा मेरो राधाजीसँग भेट भयो । कुराकानी गर्दै जाँदा उहाँ र मेरो गुरु एउटै हुनुहुँदो रहेछ ।’
नेपालगन्ज धम्बोझी चोकमा बुधबार ठकुरीले राधालाई आर्थिक सहयोग हस्तान्त्रण गर्नु भएको थियो । गायक ठकुरी र गायिका राधाले काठमाडौं जमल स्थित गन्दर्भ म्युजिक सेन्टरमा चन्दन श्रेष्ठसँग प्रशिक्षण लिनु भएको थियो ।
गायक ठकुरीले नेपालगन्जको धम्बोझी चोकमै आफनो कन्सर्टबाट भएको आम्दानीको ५० प्रतिसत रकम राधाजस्तै फरक क्षमता भएका गायक–गायिकालाई आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको छ । गायिका राधाले आर्थिक सहयोग गरेकोमा ठकुरीलाई धन्यवाद दिनु भयो ।
उहाँले भन्नु भयो, ‘मेरो दुःखलाई देखेर आर्थिक सहयोग गर्नु भएकोमा सुनिल भाईलाई हृदयदेखि धन्यवाद दिन्छु । भगवानले उहाँलाई गायन क्षेत्रमा अझै सफलता हासिल गर्न आर्शिवाद दिनुहुनेछ भन्ने कामना गर्छु । धेरै सहयोग गर्छु भन्नु हुन्छ, तर उहाँले सडकमै आएर सहयोग गर्नु भयो । खुसी लागेको छ ।’

राधा र उनका श्रीमान धन बहादुर विकलाई आर्थिक सहयोग गर्दै गायक सुनिल सिंह ठकुरी । तस्विरः कमल खत्री ।
बाँके खजुरा निवासी गायक ठकुरी नेपालको चर्चित पप गायक हुनुहुन्छ । संगीतमा रुची राख्ने सुनिलको सांगीतिक यात्रा २०६५ साल देखि सुरु भएको थियो । गीत संगीतको क्षेत्रमा लागेको १७ वर्ष पार गरिसक्दा उत्तिकै उर्जाशील भएर आफनो गायन पेशामा निरन्तर सक्रिय हुनुहुन्छ सुनिल ।
सुनिलले पाँच वटा एल्बमहरु सृजना गरिसक्नु भएको छ । पहिलो एल्वम ‘क्रेजी ह्याट’ बाटै चर्चित गायकको रुपमा चर्चा बटुल्न सफल सुनिलले क्रमश ‘घटना घट्यो’, ‘१४ अञ्चल’, ‘चैतमा’ र ‘आखाँ मुटु’ एल्बम सृजना गर्नु भएको थियो । ‘क्रेजी ह्याट’बाटै इमेज एफएफको इमेज अवार्डमा युवा पप गायकको मनोनयनमा समेत उहाँ पर्न सफल हुनु भएको थियो ।
जापानमा रहनु भएका सुनिल हाल बिदा मनाउन आफनो देश नेपाल आउनु भएको हो । सुनिलले गायनसँगै म्युजिक भिडियोमा समेत अभिनय गर्नु भएको छ । ‘जानी नजानी’ पहिलो म्युजिक भिडियो अभिनय गरेपछि उहाँको ‘जिन्दगी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो । जसमा महानायक राजेश हमाल र मधु भंटराईले सँगै पहिलो पटक अभिनय गर्नु भएको थियो ।
त्यसपछि उहाँको ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’, जापानी सहरको सुन्दरतालाई चित्रण गरिएको ‘नागोया’, ‘जनता जान्न चाहन्छन्’, ‘ब्रेकअप पार्टी’ र ‘सुस्तरी’ म्युजिक भिडियो सार्वजनिक भएका थिए । ‘नागोया’ बोलको गीत जापानको सरकारी टेलिभिजन एनएचकेमा प्रसारण भएपछि उहाँलाई सम्मानको अवसर मिलेको थियो । ‘जनता जान्न चाहन्छ’ गीत पत्रकार ऋषि धमला र उहाँकी श्रीमती एलिजा ढकालले गरेको अभिनय गरेका कारण चर्चामा रहेको थियो । नेपाल र विदेशका विभिन्न स्थानमा गरी सुनिलले करिब ५ सय कन्र्सटमा गीत गाउनु भएको छ ।