लुम्बिनी स्पोर्टस अवार्डको छनोट समिति संयोजकमा मल्ल मनोनित
Monday, October 27th, 2025, 5:32 pm
Kalpristha
नेपालगन्ज, कात्तिक १० गते
खेलाडी र खेलकर्मीको उपलब्धी र सफलताको सम्मान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको लुम्बिनी स्पोर्टस अवार्डको छनोट समितिको संयोजकमा रमेश मल्ललाई मनोनित गरिएको छ । आयोजक रंगशाला नेपाल मिडिया प्रालीले अवार्डको छनोट समिति संयोजकमा फोटोपत्रकार, सुटिङ खेलका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा साईक्लिस्ट मल्ललाई छनोट गरिएको जनाएको छ । मल्लले सन १९९७ मा भारतमा भएको दोस्रो साउथ एशियन सुटिङ्ग च्याम्पियनसिपमा सुटिङ्गतर्फ एयर पेस्तोल बिधामा तेस्रो (टिमतर्फ) स्थान हासिल गर्नुभएको थियो ।
१९९५ मा भारतमा भएको सातौं साउथ एशियन फेडरेशन गेममा एयर पेस्तोलतर्फ चौंथो स्थान हासिल गर्नुभएको थियो । नेपालगन्जमा आगामी मंसिर १८ गते लुम्बिनी स्पोर्टस अवार्ड हुँदैछ । अवार्डलाई निष्पक्ष ढंगले सम्पन्न गर्नको लागि मल्लले महत्वपुर्ण जिम्मेवारी सम्हाल्ने आयोजकले विश्वास लिएको छ ।
छनोट समिति संयोजकमा मनोनित हुनु भएका मल्ल फोटो पत्रकारितासँगै खेलकुद प्रतियोगिता व्यवस्थापनमा पनि सक्रिय भएर काम गरिरहनु भएको छ । मल्लले लुम्बिनी स्पोर्टस अवार्डको छनोट समिति संयोजकको जिम्मेवारी प्रदान गर्नुभएकोमा आयोजकलाई धन्यवाद दिनु भयो । उहाँले भन्नु भयो, ‘लुम्बिनी प्रदेशको लागि यो खुसीको कुरा हो । खेलाडी र खेलकर्मीको सम्मान गर्नु हाम्रो दायित्व हो । खेलले कुनै धर्म, समुदाय, वर्ग नभनेर आफनो समाज अनि देशलाई चिनाउने काम गरेको हुन्छ । खेलाडीले पनि राष्ट्रको गौरव बढाउन महत्वपुर्ण भुमिका निर्वाह गरिरहनु भएको हुन्छ । उहाँहरुको सम्मान हामीले गर्नु पर्छ । लुम्बिनी स्पोर्टस अवार्डले त्यो अभिभारा पुरा गर्ने विश्वास छ ।’
आयोजकले यसअघि अवार्डको संयोजकमा चाहना शाह र प्रचार–प्रसार संयोजकमा खेल पत्रकार गजे थापा(जी.थापा)मनोनित गरिसकेको छ ।लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डलाई अन्तराष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह–प्रायोजन गरेको छ ।