नेपालगन्ज राष्ट्रिय खुला पौडीको तयारी तिव्र, एक सय खेलाडीले दर्ता गराए नाम
Monday, October 27th, 2025, 5:50 pm
Kalpristha
नेपालगन्ज, १० कात्तिक
नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसीपको दोस्रो संस्करणको तयारी तिव्र गतिमा अगाडी बढिरहेको छ । प्रतियोगितामा सहभागिताको लागि सोमबार सम्म एक सय भन्दा बढी खेलाडीले नाम दर्ता गराईसकेको आयोजक नेपालगन्ज स्वीमिङ क्लबले जानकारी गराएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ ।
प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिकहरुले सोमबार नेपालगन्ज पौडी पोखरीको निरीक्षण गर्नु भएको छ । काठमाडौंबाट आउनु भएका प्राविधिक प्रतिनिधिहरु विष्णु खड्का, अनिष महर्जन, दिपक सागर सिंह सहितको टोलीले रंगशालामा गएर पौडी पोखरीको निरीक्षण गरेको थियो ।
प्रतियोगिताको तयारीलाई तिव्रताका साथ अगाडी बढाइरहेको आयोजक नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताउनु भयो । प्रतियोगिताले नेपालगन्जमा पौडी खेलाडीको संख्या बढाउँनुका साथै पौडीको स्तरलाई समेत बढाउन सहयोग गरिरहेको न्यौपानेले बताउनु भयो ।
प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१७ र अतिरिक्त उमेर समुहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा यु–८ समुहका खेलाडीले २५ मिटर, यु–१० उमेर समुहले ५० मिटर, यु–१२ र यु–१४ उमेर समुहले ५० र १०० मिटर तथा खुला समुहका खेलाडीले २०० मिटर र ४०० मिटरको इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ५६ वटा इभेन्ट्स समावेश गरिएको पौडी आयोजक नेपालगन्ज स्वीमिङ क्लबका वरिष्ट उपाध्यक्ष सुर्यमणी अधिकारीले बताउनु भयो ।

……….
प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल पौडी संघका केन्द्रिय अध्यक्ष जगतमान श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषदका पदाधिकारी लगायतका अतिथीहरुको सहभागिता रहनेछ । नेपाल पौडी संघसँग सहकार्य गरेर आयोजना गर्न लागिएको प्रतियोगितामा नेपालगन्ज न्युरो अस्पताल, सिद्र्धाथ बैंक, जस्मिन पेन्ट्स, क्रिष्टिलो वाटर, वाल्किन र डटवर्कले सहयोग गरेका छन् ।