नेपालगन्ज कनक्लेभमा फाइन प्रिन्टको साथ
Friday, November 14th, 2025, 9:41 pm
Kalpristha
नेपालगन्ज, कात्तिक २८ गते
नेपालगन्ज कनक्लेभका अवसरमा यसबर्ष फाइनप्रिन्ट फिभर पनि सँगै हुँदैछ । नेपालगन्ज डिस्कोर्षको पाँचौं श्रृंखला आउँदो ५ मंसिरमा हुँदैछ । कनक्लेभमा पुस्तक र साहित्य सम्बन्धि सेसनहरु फाइनप्रिन्ट फिभरमार्फत हुने नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपालले बताउनु भयो । उहाँका अनुसार अर्थ, सामाजिक र राजनीति सेसनहरुसँगै सिनेमा संवाद कनक्लेभका नियमित सेसनकै रुपमा संचालन हुनेछन् । कनक्लेभमा बरिष्ठ अभिनेता राजेश हमालसँग पत्रकार पवन आचार्यले संवाद गर्नुहुनेछ ।
हमालको यसबर्ष ‘युगदेखि युगसम्म’ पुस्तक प्रकाशित छ । त्यस्तै, जेनजी विद्रोहपछिको नेपालः अन्यौल र अवसर, नेपालगन्ज ः आर्थिक राजधानीको नारा र सम्भावना, डिजिटल युगको दोधारः प्रविधि वरदान कि अभिशाप लगायतका सेसनहरु तय भएका छन् ।
कनक्लेभको अघिल्लो दिन ४ मंसिरमा पनि खेलकुद र खेल डकुमेन्ट्रीसहित सदभावको सहरबारे बहस हुनेछ भने भोलिपल्ट ६ मंसिर शनिवार ११औं धारा नेपालगन्ज म्याराथन हुनेछ । यसैगरी फाइनप्रिन्ट फिभरमा स्वस्पर्श कृतिका लेखक डा. नवराज केसी, चमेलीको फूल बैजनी रुमाल कृतिका लेखक सुबिन भट्टराई र ज्ञानिका कृतिका लेखक ददि सापकोटा सहभागी हुँदैछन् ।
फाइनप्रिन्ट फिभर नारायणगढबाट सुरु भएर पोखरामा सम्पन्न भइसकेको छ । यही कात्तिक २९ मा सुर्खेतमा हुँदैछ । यसपछि नेपालगन्ज कनक्लेभसँगै फिभर हुन लागेको हो ।
अरु सहरमा पनि फिभर आयोजना गर्ने आयोजकको योजना छ । यसअघि फाइनप्रिन्ट फिभर २०७५ बैशाखमा धनगढी, नेपालगन्ज र सुर्खेतमा आयोजना गरिएको थियो । त्यसपछि पोखरामा २०७७ सालमा गरिएको फाइनप्रिन्ट फिभर त्यसपछि २०७७ सालमा नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा आयोजना गरिएको थियो ।