शिविरमा आएका दुई विदेशी भारतमा पक्राउ, शंकाको घेरामा बिएन अस्पतालका गतिविधि
Sunday, November 16th, 2025, 9:14 pm
Kalpristha
निर्मला गोसाई
नेपालगन्ज, ३० कात्तिक
नेपालगन्जमा भएको स्वास्थ्य शिविरको आएका दुई विदेशीहरु अवैध रुपमा भारत प्रवेश गर्ने क्रममा प्रक्राउ परेका छन् । उनीहरुको प्रक्राउसँगै शिविरको आयोजना गर्ने बिएन अस्पताल नेपालगन्ज अनुसन्धानको घेरामा परेको छ । अस्पतालले गरिरहेका गतिविधि बारेमा समेत शंका उत्पन्न भएको छ । विदेशी नागरिकलाई नेपालमा ल्याउँदा पालना गर्नुपर्ने कानुनको समेन अस्पतालले पालना नगरेको देखिएको छ ।
भारतीय सहर रुपैडिहामा प्रक्राउ परेका व्यक्ति बिएन अस्पताल नेपालगन्जले आयोजना गरेको कान अप्रेशन शिविरमा आएका कान प्राविधिक (विभिन्न यन्त्र प्रयोग गरेर कानले कति आवाज सुन्छ भनेर जाँच गर्ने प्राविधिक) रहेको पुष्टि भएको छ ।
ब्रिनोज युके ब्रिटेन नेपाल अटोलोजी सर्भिस युकेको सहकार्यमा बिएन कम्युनिटी ईयर केयर सर्भिसद्धारा नेपालगन्जमा बिएन अस्पताल सञ्चालित छ । नेपाल–भारतसीमावर्ती क्षेत्र सुरक्षाको हिसाबले निकै संवेदशील मानिन्छ । भारतमा हुने गरेका आतंकारी हमला र गतिविधिमा नेपालको भुमी हुँदै भारत प्रवेश गर्ने खतरा रहँदै आएको छ । पक्राउ गरेका सुमित्रा शकील ओलिसिया र हस्सन अम्मान सलीम किन भारत प्रवेश गर्दै थिए भन्ने बारेमा प्रहरीले केहि सार्वजनिक गरेको छैन् । प्रक्राउ परेका हस्सन पाकिस्तानी मुलका हुन ।
नेपालगन्जमा कात्तिक २२ गते देखि शिविरको आयोजना हुने सार्वजनिक रुपमा आव्हान गरिएको थियो ।अस्पतालले ब्रिटिस डाक्टरहरुद्धारा पनि अप्रेशन गरिने जानकारी सहित शिविरमा सहभागि हुन बिरामीहरुलाई सार्वजनिक आव्हान गरेको थियो । उक्त शिविरमा ब्रिटेनबाटै ईयर सर्जन डा.म्याकलम पावल हिल्टनको नेतृत्वमा व्यवस्थापक रोविन योङ्ग्स, कान प्राविधिकद्धय ६१ वर्षीया सुमित्रा शकील ओलिसिया र ३५ वर्षीय हस्सन अम्मान सलीम एक हप्ता अघि नेपालगन्ज आएका थिए ।
ती मध्ये कान प्राविधिकद्धय सुमित्रा र हस्सनलाई शनिवार नेपालगन्जको जमुनाह नाका पार गरेर रुपैडिया प्रवेश गरेलगत्तै भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको थियो । उनीहरु घुमघामको लागि त्यहाँ पुगेको भनिएपनि ठोस कारण भने खुलेको छैन । कानको अप्रेशन शिविरको लागि आएका उनीहरु टेक्निकलपर्सन भएपनि नेपाल स्वास्थ्य व्यवसायी परिसद् काउन्सिलबाट अनुमति लिनुपर्ने प्रावधान छ । तर उनीहरुले त्यो अनुमति लिए नलिएको खुलेको छैन ।
ईयर सर्जन डा.हिल्टनले मात्र नेपाल मेडिकल काउन्सिलबाट शिविरका लागि अनुमति लिएको काउन्सिलका सदस्य डा.कालुसिंह खत्रीले जानकारी दिनु भये । शिविरका लागि हिल्टनले एक सातादेखि नेपाल मेडिकल काउन्सिलबाट अनुमति लिनु भएको डा.खत्रीले बताउनु भयो ।
नेपालमा आयोजना गरिने शिविरमा बिरामीको स्वास्थ्य चेकजाँच तथा उपचारका लागि आउने विदेशी चिकित्सकले नेपाल मेडिकल काउन्सिलबाट, स्वास्थ्यकर्मी तथा टेक्निकलपर्सनहरुले नेपाल स्वास्थ्य व्यवसायी परिसद् तथा नर्सिङ स्टाफहरुले नेपाल नर्सिङ काउन्सिलबाट स्वीकृति लिनुपर्ने प्रावधान छ ।
तर पक्राउ परेका उनीहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट स्वीकृति नलिएको परिषदका रजिष्टार लिलानाथ भण्डारीले पुष्टि गर्नु भयो । उहाँले भन्नु भयो, ‘ प्रत्यक्ष रुपमा यस्ता शिविरमा सहभागी हुने विदेशी प्राविधिक नागरिकले परिषदबाट अनुमति लिएकै हुनुपर्छ । स्वीकृति बिना सहभागि हुन पाउँदैनन् ।’ शिविर आयोजना गर्ने संस्थाले स्वास्थ्य मन्त्रालयमा निवेदन दिनुपर्छ । उक्त मन्त्रालयको समन्वय शाखाले काउन्सिललाई पत्रचार गरेपछि त्यसैका आधारमा काउन्सिलले अनुमति दिने गरेको छ । तर बि.एन अस्पतालले अनुमतिको कुनै पत्र नपठाएको रजिष्टार भण्डारीले बताउनु भयो ।
बि.एन अस्पतालका सञ्चालक समितिका बिमल बुढाथोकीले भने पक्राउ परेका उनीहरु टेक्निकल पर्सनमात्रै भएकाले स्वीकृति लिन नपर्ने बताउनु भयो ।
पक्राउ परेका हस्सन पाकिस्तानी मूल भएको भारतीय सुरक्षा बलले जनाएको छ । त्यही भएर पनि भारतीय सुरक्षा बलले उनीहरुमाथि बढी निगरानी बढाएको हो । बहराइच कारागारमा रहेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन् । एक हप्तासम्म नेपालगन्जमा विदेशी नागरिकहरु बस्दै आएपनि स्थानीय सुरक्षा अधिकारीहरु भने वेखवर देखिएका छन् । आयोजकले समेत जानकारी नदिएको पाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार शिविर सञ्चालनका लागि बिएन अस्पतालले गएको कार्तिक १२ गते नगरपालिकामा निवेदन दिएको थियो । उपमहानगरपालिकाले भने त्यसको दुई दिनपछि १४ गते शिविर सञ्चालनको अनुमति दिएको थियो । उक्त शिविरमा ईएनटी सर्जन डा. साना मेराजको नेतृत्वमा वरिष्ठ सिनियर कान सहायक रामबहादुर बोहरा, सिनियर कान सहायक यमुना बुढाथोकी र कान सहायक सुशिला बुढाले बिरामीलाई सेवा दिने गरी अस्पतालले अनुमति पाएको थियो ।