आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना
Sunday, August 30th, 2020, 11:56 am
amit
काठमाण्डौ, १४ भदौ । आइतबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहनका साथै भारतको मध्यप्रदेश तथा आसपासका क्षेत्रमा न्यूनचापीय प्रणाली अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको छ।
हाल गण्डकी, सुदूरपश्चिम, प्रदेश नं १ र २ का अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश नं १ का एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
यसैगरी महाशाखाको पछिलो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य र अधिकतम तापक्रम ३० दशमलव तीन डिग्री सेल्सियस रहेको छ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव सात डिग्री सेल्सियस रहेको छ।