देशकै उत्कृष्ट सहकारी बन्यो जननी सामाजिक उद्यमी महिला सहकारी
Monday, November 24th, 2025, 10:07 am
Kalpristha
कृष्ण केसी
नेपालगन्ज, ९ मंसिर
बाँके राप्तीसोनारी गाउँपालिकाको जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले उत्कृष्ट सफलता हासिल गर्दै आफुलाई नमुना सहकारीको रुपमा चिनाउन सफल भएको छ । राप्ती सुनारी गाउँपालिका वडा नम्बर २ मा रहेको जननी सामाजिक उद्यमी महिला सहकारी संस्था २०६८ सालमा स्थापना भएको थियो । हाल सम्म नेपालभर ३५ हजार भन्दा बढी सहकारी स्थापना भएका छन् । ति मध्ये ५ सय ५० भन्दा बढी उद्यमी सहकारी संस्थाहरु रहेका छन् । बाँके जिल्लामा २०६८ सालमा हेफर इन्टरनेसनल नेपालद्वारा सञ्चालित साना किसान सुदृढीकरण परियोजना कार्यक्रम सञ्चालनमा आएको थियो ।
सो कार्यक्रम सञ्चालन भएसँगै आर्थिक रूपले विपन्न साना किसान महिला सदस्यहरूलाई समूहको मार्फतबाट एकीकृत गर्दै उद्यमशीलता, नेतृत्व विकास र वित्तीय साक्षरता शिक्षा प्रदान गरी सहकारीको माध्यमबाट दिगो बजारीकरण र महिला उद्यमीहरुको आर्थिक उपार्जन गर्ने मुख्य उद्देश्यले २०७२ साल फागुन ३ गते जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको स्थापना भएको थियो ।

………..
१० वर्षको अन्तरालमा महिला उद्यमी शेयर सदस्य केन्द्रित सेवा प्रवाह, उत्पादित गुणस्तरीय खसी बाख्राको बजारीकरण हाल सम्म निरन्तर रूपमा गरिरहेको छ । सो कार्यले महिला उद्यमीको आर्थिक सुधारसँगै नेतृत्व विकासमा पनि सहयोग गरिरहेको छ । यसका साथै व्यावसायिक रूपले बाख्रा पालन गर्ने सीप विकासमा पनि सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ । उद्यमशीलता सम्बन्धी नविनतम कार्यक्रमहरू पनि सहकारीका मार्फतबाट सञ्चालन हुने गरेका छन् ।
सोही सराहनीय कामको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडको रूपन्देही जिल्लाको तिलोतमामा २२ औ वार्षिक साधारणका बीचमा जननी सामाजिक उद्यमी महिला सहकारी संस्थालाई देशकै उत्कृष्ट उद्यमी सहकारी संस्थाका रूपमा सम्मान गरिएको छ । संस्थाले महिला साना किसान उद्यमीहरूलाई निरन्तर रुपले सदस्य केन्द्रित सेवा प्रवाह, सदस्यहरूले उत्पादन गरेका कृषि उपजहरूको सहज बजारीकरण गरिरहेको छ । जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले आर्थिक वर्ष २०८१ र ८२ मा १ हजार खसी स्थानीय तथा राष्ट्रिय बजारमा बिक्री वितरण गरेको थियो । जसबाट कुल कारोबार १ करोड ८६ लाख भएको थियो ।

…………
महिला उद्यमी सहकारी संस्थाको रुपमा जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले एक असल उदाहरण प्रस्तुत गरेको छ । बजारीकरणमा अत्यन्तै चुनौतीपूर्ण रहेको खसी बोकाको बजारीकरणमा उद्यमीहरूले उत्पादन गरेका खसी बाख्राको बजारीकरण सहज र सरल तरिकाले निरन्तर रुपमा खरिद बिक्री गर्दै आफ्नो व्यवसायलाई अगाडि बढाइरहेको छ ।
९ सय ६८ शेयर सदस्यहरू रहेको जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको शेयर कारोबार १ करोड १३ लाख ५१ हजार रहेको छ । व्यवसाय विस्तारको लागि महिला उद्यमीहरुलाई ७ करोड २५ लाख ५३ हजार कर्जा प्रवाह गरेको गरेको सहकारीको कुल वासलात कारोबार ९ करोड ८४ लाख २९ हजार रहेको छ । देशभर हेफर इन्टरनेसनल नेपालद्वारा सञ्चालित कार्यक्रमका मार्फतबाट स्थापना भएका तीन सय भन्दा बढी उद्यमी महिला सहकारी संस्थाहरू छन् । जसमध्ये बाँके जिल्लामा १७ वटा महिला उद्यमी सहकारी संस्था रहेका छन् ।