नेपालगन्जमा ‘व्यवसायको औपचारिकीकरण गर्नुहोस’ पुर्नताजगी तालिम सुरु
Tuesday, December 30th, 2025, 7:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ पुष
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नेपालगन्जमा ‘व्यवसायको औपचारिकीकरण गर्नुहोस’ भन्ने बारेमा पुर्नताजगी तालिम सुरु भएको छ । तालिमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले गर्नु भएको थियो । नेपाल उद्योग बाणिज्य महासंघको सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत महिला उद्यमशीलता सहायता केन्द्रका सहजकर्ता तथा कार्यक्रमका प्रदेश संयोजकहरुको लागि मंगलबार पुर्नताजगी तालिम सुरु भएको हो । तालिम तीन दिन सम्म चल्नेछ ।
तालिमको उद्घाटन गर्दै महासंघका केन्द्रिय सदस्य मनसुरीले आमा, दिदीबहिनिहरुको आर्थिक सवलिकरणले मात्रै देश तथा समाजको सामाजिक आर्थिक उन्नति सम्भव रहेको बताउनु भयो । पुर्नताजगी तालिमको उद्देश्यबारे बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक तथा कार्यक्रमका केन्द्रिय संयोजक हरि पौडेलले नेपाल उद्योग वाणिज्य महासंघ महिलाहरुलाई के कसरी व्यवसाय वा तलब सहितको रोजगारीमा आबद्ध गर्न र तिनीहरुको औपचारीकरणको बिषयमा धेरै काम गर्दै आएकामा हालका केही बर्षयता संयुक्त राष्ट्रसंघका चार वटा संगठनहरुले संयुक्त रुपमा काम गरिरहेको बताउनु भयो ।
सशक्त महिला समृद्ध नेपाल कार्यक्रमको नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक एवम प्राबिधिक सहयोगमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुमा व्यवसायको औपचारीकिकरण, हिंसा प्रभावित परिवारका सदस्यहरुलाई तलब सहितको रोजगारीका लागि प्रेषण, औपचारीकिकरण पश्चात प्रतिष्ठानहरुले अनुपालना गर्नपर्ने मध्येका गुनासो सुनुवाई संयन्त्र र स्याहार सेवाको परिक्षण गर्ने रहेको बताउनु भयो ।
कार्यक्रमको प्रमुख क्रियाकलापहरु मध्येको महत्वपूर्ण पक्ष व्यवसायको औपचारिकीकरणमा महासंघले छ वटा उद्योग वाणिज्य संघहरुबाट महिला उद्यमशिलता सहायता केन्द्र संचालन गरेर व्यवसायको दर्ता, दर्ता प्रक्रिया महत्वपूर्ण पक्ष सँगै प्यान र भ्याट आवद्धता, दर्ता खारेजी, तालिम, योगदानमा आधारीत सामाजिक सुरक्षामा आवद्धता, आदिका बारेमा सेवा तथा सहयोग गर्दै आएका केन्द्रका सहजकर्ता तथा प्रदेश संयोजकहरुको लागि व्यवसायको औपचारिकीकरणको साथै औपचारिक भएपछिको व्यवसायीक अनुपालनाका बारेमा पुनःजानकारी गराउने उद्देश्यले पुर्नताजगी तालिम आयोजना गरेको बताउनु भयो ।
तालिममा औपचारीकिकरण के हो र यसको महत्व, चुनौति तथा अवसर, व्यवसायको लेखा प्रणाली, प्रकार अनुसार दर्ता गर्न जाने निकायहरु, आदीका बारेमा सिकाई हुने बताइएको छ । तालिममा बाँके, जनकपुर, बिरगंज, सुर्खेत, दैलेख, डोटी र कैलाली उद्योग वाणिज्य संघहरुबाट केन्द्र सहजकर्ता तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यक्रम संयोजकहरु तालिममा सहभागी भएको आयोजकले जनाएको छ ।
तालिमको उद्घाटन सत्र नेपालगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जिवी ओलीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा प्रशिक्षकद्धय अर्जुन भट्टराई र रचना पण्डित, मधेश प्रदेश कार्यक्रम संयोजक डा. बाशुदेव कर्णले बोल्नु भएको थियो ।