भेरी सहकारीको ३०औं वार्षिक साधारण सभा सम्पन्न
Saturday, January 3rd, 2026, 7:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ पुष
बाँकेको पुरानो सहकारी मध्येको एक भेरी सहकारी वित्तीय संस्था लिमिटेडको शनिबार ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समाज छरिएर रहेका स–साना पुँजी एकत्रित गरि विपन्न वर्गमा लगानी गरी उनीहरुको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले २०५२ साल चैत १ गते तत्कालिन जिल्ला सहकारी कार्यालयमा विविधत रुपमा दर्ता भएर भेरीले आफनो सेवा सुरुआत गरेको थियो ।
४ हजार ५८ शेयर सदस्य रहेको भेरी सहकारी वित्तीय संस्था लिमिटेडको ३०औं वार्षिक साधारण सभा शनिबार संचालक समिति उपाध्यक्ष रुक्मिणी भारतीको अध्यक्षतामा भएको थियो । बाँके जिल्लाभर कार्यक्षेत्र रहेको भेरी सहकारी वित्तीय संस्था लिमिटेडको बचत तर्फ १९ करोड ४७ लाख ३ हजार ५ सय ३५ रुपैयाँ ७५ पैसा रहेको छ भने संस्थाले ३० करोड १ लाख ८ हजार ४ सय ४३ रुपैयाँ ऋण लगानी गरेको छ ।
भेरी प्राविधिक शिक्षालयको सभाहलमा भएको साधारण सभामा संचालक समिति अध्यक्षको तर्फबाट प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१–०८२ को लेखा परिक्षण प्रतिवेदन, संस्थाको सचिवबाट आर्थिक वर्ष २०८२–०८३ को प्रस्तावित बजेट एवम् भावि कार्य योजना स्वीकृती, आर्थिक वर्ष २०८२–०८३ को बाह्य लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संचालक समिति र उपसमितिले गरेका निर्णयहरुको अनुमोदन, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यहरु मध्येबाट प्रतिनिधि चयन लगायतको विषयमा प्रस्तावहरु प्रस्तुत गरिएको व्यवस्थापक शोभा गुरुङले बताउनु भयो ।
व्यवस्थापक शोभा गुरुङले संचालन गरेको कार्यक्रममा लेखा समिति संयोजक मिन बहादुर सिंहले आर्थिक वर्ष २०८१–०८२ को लेखा परिक्षण प्रतिवेदन, कोषाध्यक्ष भिम बहादुर मल्लले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसैगरी सचिव अन्ज शर्माले आर्थिक वर्ष २०८१–०८२ को प्रतिवेदन र आर्थिक वर्ष २०८२–०८३ को प्रस्तावित बजेट तथा भावि कार्य योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।